राति-राति हात्तीपाइलेको औषधि खुवाउँदै स्वास्थ्यकर्मी

नेपालगन्ज : सरकारी जागिर भनेपछि बिहान १० देखि अपरान्ह ५ सम्म मात्र हो भन्ने लाग्नसक्छ तर बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानमा लागेका स्वास्थ्यकर्मीले रातिको ९ बजेसम्म पनि सेवा दिएका छन् ।
नेपाल पत्रकार महासंघ बाँके शाखाले शनिबार नेपालगन्जमा आयोजना गरेको हात्तीपाइले रोगविरुद्ध आमऔषधि सेवनको प्रभावकारिताका लागि मिडियाको भूमिका विषयक कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोगविरुद्धको अभियानकी फोकल पर्सन दुर्गा गौतमले औषधि सेवन गर्नुपर्ने व्यक्ति दिउँसो नभेटिएपछि रातिको ९ बजेसम्म खुवाउन थालिएको बताइन् । उनले भनिन्, ‘नेपालगन्ज उपमहानगरपालिका–४, कोहलपुर नगरपालिकाको रझेना, जानकी र डुडुवा गाउँपालिकामा साथीहरुले रातिराति पुगेर पनि औषधि खुवाउनु भएको छ ।’
कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख धीरजंग शाहले औषधि सेवन गर्ने क्रम कम भए पनि अभियान जारी रहने बताए । सो अवसरमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले सञ्चारकर्मीलाई हात्तीपाइले रोगविरुद्धको अभियानबारे बढी भन्दा बढी समाचार संकलन गर्न आग्रह गरेका थिए । मिडिया सम्बद्ध विभिन्न संघसंस्थाका नेताहरुले हात्तीपाइलेविरुद्धको आमऔषधि सेवनको समाचार संकलनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए । सो अवसरमा हात्तीपाइले विरुद्धको औषधि खान छुटेका ११ जना पत्रकारले औषधि सेवन गरेका थिए ।
जिल्लामा फागुन २८ देखि सुरु भएर ११ चैत्रसम्म १४ दिन अभियानको रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराइएको थियो । ५ लाख ६८ हजार ३९ जनालाई औषधि खुवाउने लक्ष्य रहेकोमा घरदैलो अभियानमा ५७.९ प्रतिशत अर्थात ३ लाख २९ हजार ८९ जनाले मात्र औषधि सेवन गरेका थिए । स्वास्थ्य संस्थामा भने चैत्र मसान्तसम्म पनि औषधि सेवन गर्न पाइनेछ ।