नेपालगन्जको मेयरमा मिश्र सर्वसम्मत् हुन सकेनन्, एमाले जिल्ला र प्रदेश कमिटीबाट दत्त आचार्यको नाम पनि सिफारिस

नेपालगन्ज : नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख पदमा सर्वसम्मत् रुपमा उम्मेदवार चयन भएको भनेर बहुप्रचारित पशुपतिदयाल मिश्र फेसबुक स्टाटसमा मात्र सर्वसम्मत् भएको रहस्य खुलेको छ ।
एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्यले बिहीबार राति मेरो खुसीसँग टेलिफोन सम्पर्कमा जिल्लाको सिफारिस अनुसार मिश्रसँगै पार्टीका नगर कमिटी अध्यक्ष दत्तप्रसाद आचार्यको नाम सिफारिस गरेको रहस्य खोलेका हुन् । नगर प्रमुख पदमा एक जनाकोे नाम मात्र सिफारिस भएको हो कि दुई जनाको नाम सिफारिस गरिएकोे हो भन्ने जिज्ञासामा सचिव आचार्यले भने, ‘एउटा मात्र छैन । दुई वटा नाम (पशुपति दयाल मिश्र र दत्तप्रसाद आचार्य) को जिल्लाबाट सिफारिस भएको छ । हुन त यो कहिँ पनि भनिएको छैन । जिल्लाबाट जे नाम आएको छ । त्यही नै सिफारिस गरेका पठाएका हौं ।’

प्रदेश कमिटीले केन्द्रमा सिफारिस गर्दा आचार्यको नाम पनि पठाएको छ । यद्यपि जिल्ला कमिटीका पदाधिकारी र जिल्लामा रहेका ५ जना केन्द्रीय कमिटी सदस्यकोे बैठकले मिश्रको एकल नाममा मात्र सिफारिस गर्ने निर्णय भएको जिल्ला कमिटी उपाध्यक्ष डिल्ली विसी बताउँछन् । उपप्रमुखमा भने शान्ति ढकालको नाम मात्र सिफारिस भएको छ ।