अमेरिकी सरकारका उच्च अधिकारी मिचेनेर ‘लु’ छिचोल्दै स्थलगत अवलोकनमा निस्केपछि…

शब्द/फोटो : शंकरप्रसाद खनाल
दातृसंस्था सुविधा सम्पन्न क्षेत्रमा मात्र लगानी गर्छन् । सुविधा सम्पन्न होटलमा समीक्षा गर्दै परियोजना सम्पन्न गर्छन् । फिल्डमा पनि जाँदैनन् भन्ने नेपाली मान्यतालाई अमेरिकी सरकारका एक जना उच्च अधिकारीले गलत साबित गरिदिएका छन् ।
अमेरिकास्थित हेडक्वाटरमा युएसएआइडीको रेसिलिएन्स तथा खाद्य सुरक्षा ब्यूरोका उप–सहायक प्रशासक माइक मिचेनेरले मंगलबार बाँकेको राप्तीसोनारी गाउँपालिका-५ चिलहरियामा शीशा परियोजनाबाट विदेशबाट फर्केका युवायुवतीलाई स्वरोजगार कार्यक्रम, नेपालगन्ज उपमहानगरपालिका-२२ मा खाद्यान्न आयात रोक्न किसान किसान–२ परियोजनाले साहु राइस मिलमा सञ्चालन गरेको राइस मिल मोडल परियोजना र बैजनाथ गाउँपालिकामा सिमिटको गेट नेपालमा बिउबिजन उत्पादन परियोेजनाको स्थलगत अवलोकन गरेका थिए । बिहान ८ बजेबाट सुरु भएको उनको अवलोकन अपरान्ह मात्र सकिएको थियो ।

अधिकांश भेटघाट कार्यक्रममा टेण्ट टाँगिएको थियो तर पंखा थिएन । टिनको पाताको घरभित्र कार्यक्रम आयोजना गरिएको थियो । त्यहाँ पनि पंखा थिएन । सोमबार नेपालगन्जको तापक्रम ४०.३ डिग्री मापन गरिएको थियो । मंगलबार दिनभर ‘लु’ चलेको थियो । खपिनसक्नु गर्मी थियो । बैजनाथमा कार्यक्रम सकिँदा मिचेनेर लगायतका अधिकांश गोरो छालाका सहभागी हपहपी गर्मीले रातो पिरो भएका थिए तर अवलोकन गरिरहेका थिए । फोटो खिचिरहेका थिए ।


मिचेनेरसँग युएसएआइडी नेपालका कार्यवाहक उप–निर्देशक आमी मोर्गन र आर्थिक वृद्धि कार्यालयका निर्देशक जेसन सुकलगायत परियोजना सञ्चालन गर्ने साझेदार संस्थाका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो । स्थलगत अवलोकनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मिचेनेरले भने, ‘यो मेरो पहिलो नेपाल भ्रमण हो । बाँकेमा यहाँको समुदायका सदस्यहरू तथा निजी क्षेत्रका साझेदारहरूसँग भेटघाटको आजको दिन उत्साहजनक भएको छ ।’

बाँकेमा कृषिका विभिन्न परियोजनाहरूको भ्रमण गरेका मिचेनेरसहितको टोलीले बुधबार भने सुर्खेतमा विभिन्न स्वास्थ्य परियोजनाहरूको पनि भ्रमण गर्ने कार्यक्रम रहेको युएसएआइडी नेपालको डेभलपमेन्ट आउटरिच एण्ड कम्युनिकेशन टिम लिड आयुषा निरौला महतले जानकारी दिइन् ।