डुडुवाको पशु शाखाका कर्मचारीको लापरबाहीले किसान मारमा

रमेशकुमार यादव । बेतहनी
बाँकेको डुडुवा गाउपालिका पशु स्वास्थ्य शाखाका कर्मचारीको लापरबाहीले पशुपालक किसान मारमा परेका छन् ।
पशु सेवा शाखाका प्रमुख अशोक पाण्डे एक महिनादेखि विदामा छन् । उनले कसैलाई पनि निमित्त दिएका छैनन् । कर्मचारीको अभाव पूर्ति गर्न जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खटाएका नायव पशु प्राविधिक सुरेन्द्र शाहीमाथि शुक्रबार कार्यालय सहयोगी रक्षा राम यादवले दुव्र्यवहार गर्दै उनलाई जिल्लामै फिर्ता पठाएका छन् ।
शाहीले केन्द्र प्रमुख कमला अधिकारीलाई मोबाइल सम्पर्कमा रुँदै दुःखेसो पोखे, ‘मलाई कार्यालय सहयोगी यादवले कार्यालय कोठा सफा किन गरेको ? यहाँबाट जा । तँलाई जागिरबाट हटाइदिन्छु। तेरो काम यहाँ छैन ।’
गुनासो सुने लगत्तै शुक्रबार डुडुवा पुगेकी अधिकारीले शाहीलाई रुदै गरेको अवस्थामा भेटेकी थिइन् । उनी पुग्दा कार्यालयको हाजिरी रजिष्टर पशु सेवाका कर्मचारीले लुकाएका थिए । ‘हाजिरी रजिष्टर कहाँ छ ?’, अधिकारीले सोधेकी थिइन् । हाजिरी रजिष्टर शाखा प्रमुख पाण्डेले दराजमा राखेर जानु भएको भन्दै कर्मचारीले ढाँटेका थिए ।
आइतबार शाही कार्यालय पुग्दा उनलाई जिल्लामा फिर्ता पठाएको पत्र थमाएका थिए । पशु स्वास्थ्य शाखाका नायव प्राविधिक सहायक शंकर यादवद्वारा हस्ताक्षर गरेको पत्रमा हाललाई आवश्यकता नभएको कारण देखाउँदै फिर्ता गरेको पत्र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दलाई पठाइएको छ । शाहीलाई फिर्ता पठाएपछि सेवाग्राही सेवाबाट बञ्चित भएका छन् । पशु स्वास्थ्य शाखामा पुग्नेहरुलाई त्यहाँ रहेका कर्मचारीले कार्यालय प्रमुख पाण्डे आएपछि मात्र काम हुने भन्दै फर्काउने गरेका छन् ।
किसानको घरदैलोमा सेवा दिने ७ जना करारका पशु प्राविधिकको करार नविकरण भएको छैन । डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी र प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायसँग मेरो खुसीले सम्पर्क पैसाको अभावमा करारका प्राविधिकलाई पुनः नियुक्त गर्न नसकेको प्रतिक्रिया दिए । विगतमा घरदैलोमा पशु प्राविधिक सेवा पाउने पशुपालक किसान अहिले कर्मचारी अभावमा मारमा परेका छन् ।