अन्तर्राष्ट्रिय योग दिवसमा विश्वभर विविध कार्यक्रम

नेपालगन्ज : आज २१ जुन अर्थात अन्तर्राष्ट्रिय योग दिवस । चौथो अन्तर्राष्ट्रिय योग दिवस संसारभर विविध कार्यक्रम आयोजना गरेर मनाइँदैछ।
संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको हो। अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए। प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए। अन्तर्राष्ट्रिय योग दिवसको शुरुवाती सुत्रधार द आर्ट अफ लिभिङका संस्थापक अध्यात्मिक गुरु श्री श्री रविशंकरले भूमिका निर्वाह गरेका थिए । नेपाल सरकारले विसं २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।
चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन् ।