केही स्थानमा एमालेसँग तालमेलको तयारी छ : राप्रपा अध्यक्ष लिङ्देन

नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेसँग तालमेलको समझदारी बन्न लागेको बताएका छन् । राप्रपाले सोमबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले देशभरी नभइ केही स्थानका लागि मात्र तालमेल गरिने बताए । अरु दलहरुले गठबन्धन गरेर आइरहेको अवस्थामा देशलाई माया गर्ने राष्ट्रवादी शक्तिहरुको बीचमा समझदारी गरेर जानु उपयुक्त हुन्छ भनेर एउटा टुंगोमा पुगेको बताउँदै उनले चुनावमा गरिने तालमेलले पार्टीको एजेण्डामा कुनै फरक नपरी सिटको मात्र तालमेल हुने बताए ।
विगतमा राप्रपाले चार सिट लिएर देशै छोडिएको बताउँदै उनले यसपाली तालमेल भएका बाहेक अन्य सबै ठाउँमा राप्रपाले आफ्ना उम्मेदवार उठाउने बताए । आगामी चुनावमा आफ्नो उपस्थिति व्यापक रुपमा संसदमा पु¥याउने मात्र नभइ अग्रणी शक्तिको रुपमा राप्रपालाई पु¥याउने उद्देश्यले देशभर राप्रपाको पक्षमा जनलहर ल्याउनको लागि विभिन्न क्रियाकलाप गरिरहेको उनको भनाइ थियो ।
अध्यक्ष लिङ्देनले ३ दशकदेखि केही सिमित राजनीतिक दलहरु र तीनका पनि सिमित नेताहरुको चक्रब्यूहमा देश फसेको बताए । पछिल्लो दिनमा नेपालको निर्णायकत्व क्रमशः विदेशीहरुको हातमा जान थालेको अवस्थाहरु देखिन थालेको भन्दै उनले नेपालको निर्णयकत्व नेपाली जनताकै हातमा राख्नको लागि र तीन दशकदेखिको कुशासन, भ्रष्टाचारवाट देशलाई मुक्त गर्नको लागि राप्रपालाई अहिलेको यथास्थितिको विकल्पको रुपमा विजय गराउन जरुरी रहेको धारणा राखे । राप्रपाको चुनाव चिन्हलाई साझा चुनाव चिन्हको रुपमा प्रयोग गरेर हलोमा मतदान गर्न पनि उनले अपिल गरे ।