सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जद्वारा बाँकेका ४७ पत्रकारको निःशुल्क मृर्गौला परीक्षण

नेपालगन्ज : सेन्ट्रल सिटी हस्पिटल तथा किरण प्रभा युरो केयर रिसर्च सेन्टर प्रा.लि. नेपालगन्जले बाँकेका पत्रकारको निःशुल्क मृर्गौला परीक्षण गरेको छ ।
पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानसँगको सहकार्यमा अस्पतालले शनिबार प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार स्व. पन्नालाल गुप्ता ‘चाचाजी’ को ९४औं जन्मजयन्तीका अवसरमा ४७ जना पत्रकारको मृगौला परीक्षण गरेको हो । पत्रकारका लागि अस्पतालमा निःशुल्क रुपमा भिडियो एक्सरे, रगत र पिसाब परीक्षण गरिएको थियो । परीक्षण गराएका केहीको मृगौला अवस्था सामान्य भए पनि अधिकांश पत्रकारमा पथ्थरी, फ्याटी लिभर (ग्रेट वान र टु, मृगौला सुन्निएको, मृगौला र पिसाबमा इन्फेक्सन, सुगर लगायत समस्या देखिएको अस्पतालका म्यानेजर किरण ऐरीले जानकारी दिए ।
अस्पतालका रेडियोलोजिष्ट डा. रवि भुषणप्रसाद चौरसिया, प्याथोलोजिष्ट डा.सर्मिला गुप्ता, डा. दीपक जैसवाल, डा. सुभम गुप्तालगायतको टिमले पत्रकारको स्वास्थ्य परीक्षणमा खटिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष विजय गुप्ताको अध्यक्षतामा सम्पन्न मृगौला परीक्षणको उद्घाटन कार्यक्रममा वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, नेपालगन्ज उपमहानगरपालिकाका पूर्व नगर उप प्रमुख उमा थापामगर, वरिष्ठ पत्रकार जे. पाण्डे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरिफ अन्सारी, महासंघ बाँकेका पूर्वअध्यक्ष नीरज गौतम, महासंघका जिल्ला सचिव कमल डाँगी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायतले प्रेस स्वतन्त्रता सेनानी स्व. गुप्ताको योगदानबारे चर्चा गरेका थिए ।