डा. भट्टराईको कविता र गजल प्रस्तुतीपछि आयो यस्तो प्रतिक्रिया…

नेपालगन्ज : ‘डाक्टर पनि उम्दा कवि हुन्छन् । प्रशासकहरु पनि कविताका उम्दा पारखी र गम्भीर स्रोता हुन्छन्’, कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन’ डा. नीरज भट्टराईको एकल कविता तथा गजल वाचनमा शनिबार प्रत्यक्ष सहभागी भएपछि लेखक तथा विश्लेषक नरेन्द्रजंग पिटरले फेसबुकमा लेखेका छन्, ‘आज नेपालगन्ज कवितामय भयो ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले पनि नेपालगन्जका सबै क्षेत्रका बौद्धिक व्यक्तित्वहरुले काव्यगन्जको आनन्द लिएको फेसबुकमा स्टाटस राखेका छन् ।

कवि तथा पत्रकार वीपी अस्तुले पनि कवि भट्टराईलाई लोभलाग्दो गरी सुनेको उल्लेख गरेका छन् ।

 

महिला उद्यमी मीना ढकालले त कवितामा यर्थाथताको चित्रण र भोगाइको बेजोड संगमको संज्ञा दिएकी छन् ।

 

प्रभात शर्माले नेपालगन्जको कार्यक्रमले एउटा जबरजस्त सन्देश दियो कि हामी पनि कविता बुझ्छौं । हामी पनि गजल चिन्छौ । हामी पनि ठीक साहित्य परख गर्न सक्छौ भनेका छन् ।

 

डा.राजन पाण्डेले त उत्कृष्ट कविता र गजल श्रवण गर्ने मौका दिएकोमा आयोजकलाई धन्यवाद दिएका छन् ।
मध्यपश्चिम स्रष्टा समाजले शनिबार आयोजना गरेको काव्यगन्जमा डा.भट्टराईले आफ्ना चुनिएका कविता र गजल वाचन गरेका थिए । डा. नीरजका कवितामाथि समीक्षक राजकुमार बानियाँ र गजलमाथि खगेन्द्र गिरि ‘कोपिला’ले टिप्पणी गरेका थिए । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, चिकित्सक, उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी एवं साहित्यकार ठूलो संख्यामा उपस्थित भएका थिए ।