साइकल व्यवसायमा ‘बागवान बिरासत’

३४ वर्षअघि नेपालगन्जको सडकमा बोरा ओछ्याएर २५ पैसामा साइकलको पञ्चर टाल्ने मोहम्मद सरिफ बागवान साइकल व्यवसायबाट अर्बपति बनेका छन्

शंकरप्रसाद खनाल । नेपालगन्ज
बहुदलीय व्यवस्था आउने बेला नेपालगन्जको सडकमा ओहोरदोहोर गर्नेलाई प्रहरी गुल्म अगाडि साइकल बनाउँदै गरेको युवाबारे केही सम्झना छ ? कतिले त साइकल मर्मत पनि गराउनुभयो होला ? एउटा थोत्रो साइकल उल्टो पारेर राखिएको हुन्थ्यो। छेउमा दुइटा डन्डा गाडिएको हुन्थ्यो। डन्डामा डोरी बाँधेर साइकलका टायर र गद्दी टाँगिएका हुन्थे। २० वर्षे लक्का जवान बोरा ओछ्याएर साइकल मर्मत गरिरहेका हुन्थे। त्यस बेला २५ पैसामा साइकलको पन्चर टाल्ने मोहम्मद सरिफ बागवान ३४ वर्षमा अर्बपति बनेका छन्।
नेपालगन्ज–१ धम्बोझीका बागवानले २०४५ सालमा बागवानले ७ हजार रुपैयाँमा प्रहरी गुल्म अगाडि साइकलको पञ्चर टाल्न सुरु गरेका थिए । उनी अहिले साइकल, मोटर साइकल र अटोको कारोबार गर्ने ५ वटा कम्पनीका मालिक छन् । पहिले पञ्चर टाल्ने गरेको पसल नजिकै धम्बोझी चोकमा बीबी साइकल सेन्टर नामको ठूलो साइकल शोरुम खोलेका छन् । सम्भवतः नेपालकै सबैभन्दा ठूलो साइकल स्टोर भएको उनको दाबी छ । ‘नेपालका विभिन्न स्थानबाट हेर्न आउनेहरुले अहिलेसम्म कसैले पनि यति ठूलो साइकल शोरुम देखेको छैन भन्छन् । मैले पनि देखेको छैन’, उनले जिकिर गरे । उनको धम्बोझीमै अर्को बागवान साइकल स्टोर पनि छ । साइकलको होलसेल कारोबार गोरखा साइकल सप्लायर्सले गर्छ । टिभीएस मोटरसाइकल र अटो व्यवसाय गोरखा इन्टरप्राइजेजबाट हुन्छ । बागवान इन्जिनियरिङ पनि उनैको हो । यी पाँच कम्पनीमा ५०÷६० करोड रुपैयाँभन्दा बढीको लगानी छ । यही कमाइबाट घरजग्गा लगायतको ५०–६० करोडको सम्पत्ति नै उनले जोडेका छन् । नेपालगन्जको धम्बोझीमा २५ पैसामा साइकलको पञ्चर टालेर व्यवसाय सुरु गरेका बागवान साढे तीन दशकमै अर्बपति बनेका छन् । ‘कोरोनामा लकडाउनका बेला अटो रिक्सा चल्न पाएनन् । अहिले मलाई १० करोड घाटा भएको छ’, उनले दुःखेसो पोखे । उनका पाँच वटा फर्ममा गरी ६० जनाले रोजगारी पाएका छन् । कम्तीमा पनि १५ हजार रुपैयाँदेखि बढीमा ५५ हजार तलब दिएका छन् । उनले बागवान बिरासत कायम गर्न झन्डै साढे ३ दशकको समयमा निकै संघर्ष गरेका छन् ।

यसरी सुरु भयो व्यवसाय
२०४३ सालमा एसएलसी दिएका बागवानले प्रहरीको जागिर खान चाहेका थिए । बुबाकै कारण पाएनन् । ‘बरु चिया पसल खोल । पुलिसको जागिर खान पाउन्नस्’ बुबाको उर्दी थियो ।
पुलिसमा जागिर खान नपाएपछि किराना पसलमा मासिक ८ सय रुपैयाँ पाउने गरी उनले २ वर्ष काम गरे । त्यसको २ वर्ष आफ्नै किराना पसल पनि खोले । ठेकेदारले खाएको उधारो नतिरेकाले उनी घाटामा डुबे । ३७ हजार रुपैयाँमा किराना पसल बेचे । साहुलाई तिरेर बाँकी रहेको ७ हजार रुपैयाँमा साइकलको काम गर्न थाले । साइकलको काम गर्न उनलाई छिमेकी काका भगवति न्यौपानेले प्रेरणा दिएका थिए । त्यत्तिबेला एक जना मनिहार थरको मान्छेले साइकलको काम गर्दा गर्दै रिक्सा पनि बनाएर बेच्न थालेको थियो । उसको राम्रो प्रगति थियो । ‘अंकलले त्यही देखेर मलाई साइकल व्यवसायमा लाग्न भन्नुभयो’, उनले न्यौपानेप्रति कृतज्ञता प्रकट गरे ।
उनले पनि सुरुमा सडक किनारमा बोरा ओछ्याएर साइकल मर्मत गर्न थाले । २ वर्षभित्रै ३ हजार रुपैयाँमा काठको घुम्ती पसल किने । त्यसमा सरे । घुम्तीको अगाडि चार वटा गुन्द्री राखेर साइकल मर्मत गर्थे । त्यसपछि भने ‘राम्रो मिस्त्री’भनेर बजारमा लोकप्रिय हुनथाले । त्यत्तिबेलै बागवानले साइकलको थोक पसल चलाउने सपना देख्न थालिसकेका थिए तर पैसा थिएन । बाबुसँग मागे । जग्गा धितो राखेर बैंकबाट ऋण लिन सुरुमा बाबुले पत्याएनन् । ‘छिमेकी विनोद पोद्दार अंकलले ‘उसले नदिए म दिउँला’ भनेर सम्झाएपछि मात्र बुबा एक लाख रुपैयाँ ऋण निकाल्न धितो दिन तयार हुुनुभयो’, उनले घटना बेलिविस्तार गरे, ‘५० हजार रुपैयाँ लिएर वीरगन्ज गएर १६ वटा साइकल ल्याए । अनि होलसेल सुरु भयो ।’ तर, यो होलसेल पनि फापेन । नेपालगन्जका ३ जना (उनी, माधवप्रसाद गुप्ता र मोबिन अहमद हल्वाइ) र एक भारतीय (मोहम्मद आरिफ)गरी ४ जना मिलेर ०५८ सालमा संयुक्त होलसेल पसल पनि सुरु गरे । २० महिनापछि उनीहरुको साझेदारी तोडियो । ‘सबैका नाममा कुनै न कुनै ब्राण्डको साइकलको एजेन्सी थियो । म अलपत्र परे । बैंक अफ काठमाडौंको १५ लाख रुपैयाँ ऋण थियो । त्यो तिर्न पाँच कठ्ठा जग्गा बेच्नु प¥यो’, उनले दुःखका दिन सम्झे, ‘मैले हिम्मत हारेन । ३० लाख रुपैयाँको अर्को ओडी बनाए । ७ लाख व्यक्तिको ऋण थियो । त्यो चुक्ता गरिदिए । २३ लाख रुपैयाँ बोकेर भारतको लुधियानामा साइकलको डिलर लिन गए । भर्खर खुलेको नीलम साइकलको डिलर ल्याए । पाँच लाख भारुमा एक ट्रक ४०० वटा साइकल ल्याए ।’ यो २०६० सालतिरको कुरा हो । उनले साइकल त ल्याए तर त्यत्तिबेला बजारमा हिरो, एटलस र हरकुलेस साइकलको दबदबा थियो । सुरुमा नीलम साइकल कसैले पत्याएनन् । अरु साइकल एउटा बेचे डिलरले एक सय रुपैयाँ फाइदा पाउँथे । उनले नीलम बेच्दा पाँच सय रुपैयाँ दिनथाले । बढी कमिसनले नै उनको होलसेल व्यवसाय चम्कायो । अर्डर दोब्बर हुनथाल्यो । त्यसपछि एबीपीएल, नोभा, ए–वान र एसके साइकलको पनि डिलर ल्याए । ‘मेरो जीवनको टर्निङ प्वाइट नै यही थियो’, उनले मुहार चम्किलो पार्दै सुनाए, ‘२ वर्षपछि त चीनको फेक्ट्रीमै पुगेर साइकल ल्याउन थाले ।’ २०७६ पछि हरेक वर्ष चीनबाट उनका आठ दश कन्टेनर साइकल आउँछ ।

पञ्चर टाल्ने बेला साइकलको सामान लिन जाँदा उनलाई साइकल व्यापारीले ठगेको अनुभूति हुन्थ्यो । ‘मलाई सामान बहुत महंगो दिइरहेका छौं । एक दिन म फैक्ट्रीबाटै साइकल ल्याउँछु भन्ने अठोट त्यही बेलादेखि गरेको थिए’, उनले त्यसको श्रेय आफ्नो संघर्षपूर्ण कर्म र भगवानलाई दिँदै भन्छन्, ‘कर्म गर फलको आशा नगर भनिन्छ । मैले कहिल्यै हिम्मत हारेन । काम गर्दै गए । भगवानले आफै फल दियो ।’
उनको सफलतको राज पनि यही थियो । जीवनमा हरेस खानु भएन । हिम्मत हार्नु भएन । मेहेनत गर्नेले एक दिन मञ्जिल पाउँछ भन्ने साँचो रहेछ भनेर उनी बताउँछन् । कक्षा ३ मा पढेको कछुवा र खरायोको दौडको कथाले पनि उनलाई जीवनमा संघर्ष गर्न उत्प्रेरित गरेको छ । पञ्चर टाल्नेदेखि साइकल बेच्ने पेशालाई उनी गर्व गर्दै भन्छन्, ‘जागिर खाएको भए मेरो पालासम्म मात्र हुन्थ्यो । व्यापार गर्दा मेरो नाति पनातिसम्म भएको छ । मैले बागवान बिरासत बनाएको छु ।’

बुबाको कमाइमा गुजारा
उनका बुबा मोहम्मद सफि बागवान नेपालगन्ज नगरपालिकामा मालीको काम गर्थे । त्यसैबाट घरमा गुजारा चल्थ्यो । सफिका ५ छोरामध्ये जेठा छोरा सरिफले साइकल व्यवसाय रोजे । त्यसमा सफलता पाउँदै गएपछि बुबालाई जागिरबाट छुटाए । माइलो हनिफ, साइलोे सारिक, काइलो अब्दुल माबुद र कान्छो अब्दुल अजिजले पनि दाजुको बिँडो धानेका छन् । दाजुभाइ छुट्टिएका छैनन् । नेपालगन्ज–१ धम्बोझीमा १० कठ्ठा जग्गामा बागवान परिवारको ३२ कोठे घर छ । त्यहाँ बाजेदेखि पनातीसम्मको ३२ जनाको संयुक्त परिवार बस्छ । ‘छुट्टिएका छैनौं । भान्सा भने अलग–अलग छ । एउटा भान्से राखेर सिंगो परिवार सँगै बसेर खाने मेरो योजना सफल भएको छैन’, उनले दुई कठ्ठा जग्गामा बनेको ८ हजार स्क्वायर फिटको सेतो दुई तले आलिसान गोलघरको थ्रीडी नक्सा देखाउँदै भने, ‘यो मेरो सपनाको बागवान मञ्जिल हो । यसको निर्माण पूरा भए हाम्रो परिवारको भातभान्सा फेरि एकैठाउँमा आउँछ ।’ उनी ५ भाइ नै आफ्नो ताकत भएको बताउँछन् । ‘सबै भाइ एक ठाउँमा भए शक्ति आउँछ । फुटे कमजोर हुन्छ । देशको अवस्था पनि त त्यही हो’, उनले भने, ‘म एक्लैले के गर्न सक्थे । भाइहरुले काम सम्हाले । अहिले त छोराहरुले पनि जिम्मेवारी लिन थाले सके ।’ उनी आफूलाई नेपालगन्जको रैथाने भन्न रुचाउँछन् । धम्बोझीमा बस्न लागेको मेरो छोराको छैटौं पुस्ता हो । सरिफका तीन भाइ छोरा छन् । जेठो नूर आलमले एमबीबीएस पढेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा काम गर्छ । माइलो छोरा अल्ताफले एमबीए गरेको छ । बाबुकै व्यवसायलाई सघाउँछ । कान्छो समसुल फिजियोथेरापिष्ट हो ।

करोडौंको साइकल कारोबार
धम्बोझीमा यो परिवारको बागवान साइकल स्टोर थियो । जुन अहिले पनि छ । २०६७ सालमा त्यसको छेवैमा उत्तरतिर एक कठ्ठा जग्गा किनेर अर्को बीबी साइकल स्टोर खोले । यो साइकल शोरुम पूरै एक कठ्ठा जग्गामै बनेको छ । जहाँ बच्चाका खेलौनादेखि माउन्टेन बाइक गरी ३६५ प्रकारका साइकल पाइन्छन् । १०० प्रकारका त माउण्टेन बाइक नै छन् । माउन्टेन बाइक मात्र कम्तीमा १० हजार रुपैयाँदेखि बढीमा एक लाख २० हजार रुपैयाँ पर्ने छन् । उनको कम्पनीले वर्षभरीमा २० देखि ४० हजार वटा साइकल बेच्छ । पूर्वको इटहरिदेखि पश्चिममा महेन्द्रनगरसम्म उनको साइकलको होलसेल कारोबार हुन्छ । वार्षिक ५०÷६० करोडको साइकलको कारोबार हुन्छ ।
उनको अर्को विशेषता भनेको ‘बागवान’ र ‘गोरखा’ आफ्नै ब्राण्डको साइकल पनि छ । ‘बागवान साइकल मेरो ब्राण्ड हो । मेरो पहिचान हो । मेरो बिरासत हो । गोरखा मेरो देशको पहिचान हो’, उनले प्रष्ट पारे, ‘नाम मेरो, मोडल मेरो, डिजाइन मेरो, क्यालिटी मेरो र लगानी मेरो हो । चीनले साइकल मात्र उत्पादन गरेर पठाउँछ ।’ बागवान ब्राण्डको साइकल १८ हजार रुपैयाँ र गोरखा ब्राण्डको साइकलको मोल २५ हजार रुपैयाँ छ । गोरखा निकै बलियो साइकल भएको उनी दाबी गर्छन्, ‘किन्नेले तीन वर्षमा टायर पनि फेरेको छैनन् ।’ ०७५ सालमा नेपालमा भारतीय बुलेट साइकल भिञ्याउने श्रेय पनि उनलाई जान्छ । मोटरसाइकलका जस्ता पाङ्ग्रा भएको झन्डै २० हजार रुपैयाँ पर्ने यो साइकल भारतको लुधियानाबाट पहिलो पटक बागवानले नै नेपालगन्जमा लञ्च गरेका थिए ।

 

साइकल स्टोरमा प्रविधि
केही वर्षअघि उनी दुबइ घुम्न गएका थिए । विमानस्थलको पसलमा कोही व्यापारी थिएनन् । एक जना ग्राहकले मोबाइल चलाएर पैसा पठाए । व्यापारी नदेखिएरै सामान आयो । उनले अचम्म माने । ‘एक दिन म पनि यस्तै गरी व्यापार गर्छु’ भन्ने उनले मनमनै सोचे । उनको पसलमा पनि अहिले साइकलको खरिद बिक्री ई–पेमेन्टमा हुुन्छ । नगद नल्याउनेलाई फोन पे गर्न भन्छन् । मोबाइल खालेर क्युआर कोड स्क्यान गर्न भन्छन् । संवाददातासँग संवादकै क्रममा उनले धेरै ग्राहकसँग यसरी नै व्यापार गरेका थिए । माइलो छोरा अल्ताफलाई पैसा आए नआएको सुनिश्चित गर्न लगाउँथे । होलसेल गर्नेले बैंकमै पैसा पठाउँछन् । अर्डर ह्वाट्स एप वा इमेलमा हुन्छ । सामान सबै ट्रान्सपोर्टबाट पठाउँछौं । बीबी साइकल स्टोरमा थरीथरीका साइकल छन् । थरीथरी ग्राहक आउँछन् । उनी कामदार र ग्राहकका गतिविधि १६ वटा सीसी टिभीबाट नियाल्छन् । विगतमा होलसेल बेचेका साइकलको पैसा उठाउन मोटरसाइकलमा टाढा टाढा जानु पर्दा भोगेका दुःख सम्झँदै उनी प्रविधिले निकै सजिलो बनाएको बताउँछन् ।

भावी योजना
घरको अर्थ व्यवस्था सुधारे जस्तै देशको अर्थ व्यवस्था सुधार्न एक पटक अर्थमन्त्री बन्ने उनले सपना देखेका छन् । ‘नेताले जनताको काम गरेनन् । आफ्नो भुँडी मात्र भरे । अहिले जनताले विश्वास गर्न छोडे । अर्थ व्यवस्था झनपछि झन खस्किँदो छ । देश ढुलमुलमा छ’, उनले सपना सुनाए, ‘एक पटक अर्थमन्त्री बनेर अर्थ व्यवस्था सुधार्ने मेरो सपना छ । घर सुधारे । अब देश पनि सुधार्न सक्छु भन्ने आत्मविश्वास छ ।’ उनलाई आगामी निर्वाचनमा नै उम्मेदवारीको प्रस्ताव आएको छ । अहिले चुनाव लड्ने उनको सोच छैन । भविष्यमा लड्ने उनी बताउँछन् । २०८० पछि बीबी साइकल भएको ठाउँमा ‘बागवान अस्पताल’ खोल्ने योजना छ । जहाँ महिला र बालबालिकाको उपचार हुनेछ’, उनले भावी योजना बताए ।
३ असार २०२५ मा जन्मेका बागवानका दाह्रीजुङ्गा सेताम्य फुलेका छन् । उनको शीरमा ढाकाको टोपी र गलामा गम्छा अनिवार्य हुन्छ । प्रायः कुर्ता पाइजामा माथि हाफ कोट हुन्छ । मन्द मुस्कानका साथ ग्राहकसँग कुरा गर्छन् । उनको बोलीमा मिठास हुन्छ । दम्भ कतै छैन । ‘कसैले घमण्ड गर्न हुँदैन । अर्कालाई सानो ठान्नु त मुर्खता हो’, उनले व्यवसाय गर्दा यही सिके । व्यवहारमा यही उतारेका छन् । उनी साइकल बेच्ने मात्र गर्दैनन् । आफू पनि माउन्टेन बाइक चढ्छन् । साइकल किन चलाउने त ? बागवानको सुझाव छ, ‘नियमित साइकल चढ्नेको मांशपेशी बलियो हुन्छ । मधुमेह लाग्दैन । वीपी भाग्छ । हाडका जोर्नी दुख्दैनन् । मुहार चम्किलो हुन्छ । प्रदुषणबाट बचाउँछ । सवारीले प्रदुषण मुक्त बनायोे भने पनि हामी स्वस्थ हुन्छौं ।’
बागवान बिरासतको सन्देश हो, ‘कामले कोही पनि सानो ठूलो हुँदैन । काम पनि ठूलो सानो हुँदैन । सबैको आफ्नै महत्व हुन्छ । निरन्तर संघर्ष गर्ने हो भने हरेक कामबाट जीवनमा सफलता पाउन सकिन्छ ।’ स्रोत : अन्नपूर्ण पोस्ट दैनिक