देशभर सबैभन्दा धेरै वर्षा बर्दियामा, कर्णाली नदीमा पानीको बहावले चेतावनीको संकेत

नेपालगन्ज : बर्दिया जिल्लामा देशभरमै बिहीबार र शुक्रबार सबैभन्दा बढी र भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाको वेभसाइट हाइड्रोलोजी डट जीओभी डट इनपीको शुक्रबार राति ११ बजेसम्मको रेकर्ड अनुसार गएको २४ घण्टामा बर्दियाको राजापुर क्षेत्रमा मात्र २५८.६ मिलिमिटर वर्षा भएको छ । जबकी १२ घण्टाभित्र त्यहाँ २३९.२ मिलिमिटर वर्षा भएको छ । गएको ६ घण्टामा १०४.६ मिलिमिटर वर्षा भएको छ । सो क्षेत्रमा कर्णाली नदीमा पानीको बहावले खतराको संकेत गरेको छ । बर्दियाको गोदाना क्षेत्रको औराही खोला क्षेत्रमा पनि २४ घण्टामा १५१.८ मिलिमिटर वर्षा भएको छ । त्यहाँ पनि कर्णाली नदीमा पानीको बहावले खतराको संकेत गरेको छ ।

तेस्रो बढी वर्षा दाङको कोइलाबास क्षेत्रमा १४७.४ मिलिमिटर वर्षा भएको छ । त्यहाँ पनि राप्ती नदीको बाढीले चेतावनीको संकेत दिएको छ । चौैथो बढी वर्षा चन्द्रगढी झापामा १२७.६ मिलिमिटर वर्षा भएको छ । त्यहाँ पनि कन्काइ नदीको पानीको बहावले खतराको संकेत गरेको छ ।

गत २४ घण्टामा नेपालगन्जमा ६७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार शनिबारसम्म पनि तराई क्षेत्रमा निरन्तर वर्षाको सम्भावना रहेको छ । अझै केहिदिन पश्चिमी क्षेत्रका नदीमा बहाव बढ्न सक्ने भएकाले सजकता अपनाउन जिल्ला प्रशाशन कार्यालय बाँकेले आग्रह गरेको छ । बाँके, बर्दिया, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यानलगायत १६ जिल्ला उच्च जोखिममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।