मेरो खुसी : चौथो वर्षमा प्रवेश

मेरो खुसी डटकम चौथो वर्षमा प्रवेश गरेको छ । यो खबर सुनाउन पाउँदा हामीलाई औधि खुसी लागेको छ । सूचना तथा प्रसारण विभागमा २७ पुस २०७६ मा दर्ता गरे पनि ७ चैत्रबाट मात्र मेरो खुसी डटकम औपचारिक रुपमा सुरु भएको थियो । दर्ता भएको मितिलाई भन्दा कार्य प्रारम्भ भएको दिनलाई हामीले वार्षिकोत्सव मानेका छौं ।
कोरोना कहरका कारण तीन वर्ष बितेको पत्तो नै भएन । यो अवधिमा हामीले समस्या उठान मात्र गरेनौं, समाधानका उपाय पनि बताउने प्रयत्न गरेका छौं । फाइदा र बेफाइदा, प्रयोग विधि र अभ्यास अनि अनुभव सबै कुराको प्याकेज पस्केका छौं । हामीले समाजलाई सूचना मात्र दिएनौं । त्यो सूचना व्यक्ति, परिवार, समाज, सरकार, सम्पूर्ण मानव जातिका लागि सकारात्मक परिवर्तन र उर्जाको श्रोत वा मार्गदर्शक बनाउने प्रयत्न गरेका छौं । ‘ब्याड न्युज इज गुड न्युज’ नै ‘बेस्ट सेलर न्युज’ हो मान्ने व्यवसायिक मिडियाको विश्वव्यापी मान्यताभन्दा माथि उठेर सकारात्मक सन्देश समाजका लागि बढी उपयोगी हुन्छ भन्ने हामीले स्थापित गर्न खोज्यौं । अरु अनलाइन भन्दा भिन्न भयौं । अरु मिडियालाई प्रतिष्पर्धी नै ठान्नेनौं । छिटो सूचना दिनु अनलाइन मिडियाको विशेषता नै हो तर हामी समाचार दिन कहिल्यै हतारिएनौं । समाचार त दियौं, छिटो समाचार दिने नाममा अपुरो, अपुष्ट, एकतर्फी, र पूर्वाग्रही समाचारमा सधैं सर्तक भयौं । सत्यतथ्य र सन्तुलित समाचारमा कहिल्यै विचलित भएनौं । शुभेच्छुकले सुझाव दिने बित्तिकै हामीले गल्ती सच्चाएका छौं । गल्ती अन्जानमा हुन्छ । गल्ती सच्चाउने तत्परता देखाउनु मिडियाको धर्म हुन्छ । यही मूल मन्त्रलाई आत्मसात गर्दै पाठकलार्ई अनुभूत हुने गरी हामीले गल्ती सच्चाएका छौं । हरेक विषयवस्तु एकपछि अर्को गहन, पठनीय र अनुकरणीय बनाउन समाचारलाई विश्लेषण गर्ने प्रयत्न गरेका छौं । ब्यक्ति, समाज र संघसंस्थाका असल अभ्यास, विकास र समृद्धिका कथा, ज्ञान, विज्ञान तथा अध्यात्मका अनुशरणीय र अनुकरणीय कुरा हाम्रो प्राथमिकतामा पर्नेछन् र परेका छन् ।
कोरोना कहर र त्यसपछि आर्थिक मन्दीको बेला मिडिया सञ्चालन गर्नु र निरन्तरता दिनु पनि चानचुने कुरा रहेनछ । मेरो खुसीको निरन्तरतामा प्रत्यक्ष वा अप्रत्यक्ष साथ र सहयोग गर्ने सहकर्मी, सूचनादाता, विज्ञापनदाता, पाठक, शुभेच्छुक र शुभचिन्तकप्रति हामी आभारी छौं ।
हामीले शुभारम्भमा नै भनेका थियौं, ‘खुसी ब्यक्तिमै निहीत हुुन्छ । हामी त्यही खुसी जागृत गर्र्न आएका छौं । एकको खुसी अर्कोलाई बाँड्न चाहन्छौं ।’ हामीले न्युज अपडेट, जीवनशैली, समृद्धि स्टोरी, संवाद र मल्टिमिडिया स्तम्भ मार्फत यो उद्देश्यमा केही हदसम्म भए पनि कोरोनाले थिलोथिलो मनमा मल्हम लगाउने प्रयत्न गरेका थियौं । हाम्रो उद्देश्यमा विचलित भएका छैनौ । लक्ष्य र उद्देश्य अनुरुप गर्नपर्ने धेरै बाँकी नै छ । आगामी दिनमा बाँकी अभिभारा पूरा गर्ने विश्वास दिलाउन चाहन्छौं । यहाँहरुको अझ बढी साथ, सहयोग र सहकार्यको खाँचो छ । तपाईबाट प्राप्त उर्जालाई खुसीमा रुपान्तरण गर्दै त्यो खुसी व्यक्ति, समाज र मानव जातिमा बाँड्ने प्रयत्नमा पक्कै सफल हुनेछौं भन्ने आशा र विश्वास छ ।

शंकरप्रसाद खनाल
सम्पादक/अध्यक्ष
नेपालगन्ज प्रेस इन्टरनेशनल प्रा.लि.