थारु संस्कृति जोगाउँदै पर्यटकीय क्षेत्र

पर्यटकीय क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकलाई थारु कला र संस्कृतिप्रति आकर्षण बढ्दो
बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा थारु नृत्य प्रस्तुत गर्दै ठाकुरबाबा नगरपालिका–९ बेतहनीको प्राकृतिक तथा सांस्कृतिक बहुद्देश्यीय युवा क्लबका कलाकारहरु । फोटोहरु : शंकरप्रसाद खनाल

शंकरप्रसाद खनाल । ठाकुरद्वारा (बर्दिया)
स्प्रिङ डेल एकेडेमी नेपालगन्जका कक्षा ११ का विद्यार्थीले २९ चैत्र २०७९ मा बर्दियाको ठाकुरद्वारामा १२ कक्षाका विद्यार्थीको विदाइ कार्यक्रम आयोजना गरेका थिए । पर्यटकीय गन्तव्य ठाकुरद्वारामा आयोजना गरिएको कार्यक्रमको मुख्य आकर्षण थियो, थारु नाच । ठाकुरबाबा नगरपालिका–९ बेतहनीको प्राकृतिक तथा सांस्कृतिक बहुद्देश्यीय युवा क्लबका युवायुवतीले हुदङ्गवा, लाठी र छोक्रा नाच प्रस्तुत गरेका थिए । थारु भाषा पनि नबुझेका सहरी संस्कृतिमा हुर्केका स्प्रिङ डेलका विद्यार्थी थारु गीतमा निकै रमाएर नाचेका थिए । थारु नृत्यबाट विद्यार्थीले पूरानो वर्षको विदाइ र नयाँ वर्ष २०८० लाई स्वागत गरेका थिए । प्राकृतिक तथा सांस्कृतिक बहुद्देश्यीय युवा क्लबकी अध्यक्ष सीतारानी थारु पाहुनालाई थारु गीत र नृत्यबाट स्वागत गर्न पाउँदा खुसी लाग्ने बताउँछिन् ।

‘ठाकुरद्वाराका होटलमा धेरै पाहुना आएको बेलामा होटलले हामीलाई बोलाउँछन् । हाम्रो थारु संस्कृति पनि जोगिने आम्दानी पनि हुने भएकाले हामी थारु नृत्य प्रस्तुत गर्छौ’, चौधरीले अनुभव सुनाइन्, ‘कहिले काँही त एकै रातमा तीन चार वटा होटलमा पनि जानुपर्छ । भ्याइ न भ्याइ हुन्छ । हरेक दिन कुनै न कुनै होटलले डाकेकै हुन्छन् ।’
नयाँ पुस्ता आधुनिक गीत संगीतप्रति बढी आकर्षित भएकाले थारु गाउँघरमा थारुका गीत र नृत्य पहिले जस्तो हुन छोडेका छन् । पर्यटकीय क्षेत्रमा भने थारु संस्कृतिको जर्गेना गर्न र त्यसबाट आम्दानीको स्रोत बढाउन थारु नृत्य प्रस्तुत गर्न थालिएको छ । यस्ता समूह ठाउँ ठाउँमा गठन भएका छन् । प्राकृतिक तथा सांस्कृतिक बहुद्देश्यीय युवा क्लबमा २५ जना आबद्ध छन् । ७ जना पुरुष बाहेक सबै महिला छन् । मादल बजाउने बाहेक नाँच्ने सबै किशोरी र महिला छन् । क्लबले स्कुले बालबालिकालाई पनि संस्कृति संरक्षणमा लगाएको छ ।
क्लबले एक रातमा एउटा होटलबाट पाउने पाँच हजार रुपैयाँको पारिश्रमिकलाई कलाकारलाई बाँड्दैन । समूहमा लगानी गर्छ । क्लबका अर्का सदस्य राधाकृष्ण चौधरीले भने, ‘अहिलेसम्म दुई पटक मात्र पैसा बाँडेका छौं । समूहमा पाँच लाख रुपैयाँ जति संकलन भएको छ । १० प्रतिशत ब्याजमा लगाउँछौं । अप्ठारो परेको बेला यही पैसा काम लाग्छ ।’

ठाकुरबाबा नगरपालिकाको वडा नं. ९ ठाकुरद्वाराको अर्को सम्पदा थारु संस्कृति नामक समूहले पनि होटलहरुमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेको छ । यो समूहले एक रातको तीन हजार रुपैयाँ पारिश्रमिक लिन्छ । थारु जातिको हुदङ्गवा, छोक्रा, झुम्रा, मयुर नाच (मुग्रहवा) नाँच प्रस्तुत गर्छ । २६ जना रहेको समूहका संयोजक विष्णु थारु त दिनभरी आफ्नो घरको काम गरेर आराम गर्ने बेला ओभर टाइमको रुपमा होटलमा गीत नृत्य प्रस्तुत गरिरहेको बताउँछन् । ‘हाम्रोे थारु संस्कृति पनि जोगिएको छ । सुत्ने समयमा काम पनि पाएका छौं । दाम पनि पाउँछौं’, थारु भन्छन्, ‘हामीले गरेको देखेर बच्चाबच्चीले हाम्रो संस्कृति सिक्छन् ।’ यो समूहले होटलबाट संकलन गरेको पैसालाई बचत गरिरहेको छ । समूहमा पाँच लाख रुपैयाँको हाराहारीमा बचत भएकोे छ । त्यो पैंसा समूहका सदस्यलाई आपतविपद् परेको बेला काम लाग्ने गरेको छ । ‘ऋणको रुपमा लिएको रकममा डेढ प्रतिशत ब्याज तिर्नुपर्छ । ऋण लिन धितो आवश्यक पर्दैन । गर्जो टर्ने गरेको छ ।’
ठाकुरद्वाराका होटलले स्थानीय कला संस्कृति प्रस्तुत गर्न थारु नाच पाहुनालाई प्रस्तुत गर्ने गरेका छन् । जसका कारण थारु बाहुल्य क्षेत्रमा पनि लोपोन्मुख अवस्थामा थारु नाचको संरक्षण हुन थालेको छ । थारु संस्कृतिकोे संरक्षण र सम्बद्र्धनसँगै स्थानीयले आम्दानीको स्रोत बनाउन थालेका छन् ।
ठाकुरद्वाराको बबई रिसोर्टका प्रबन्ध निर्देशक धर्मराज घिमिरे दिनभरी पर्यटकीय क्षेत्रमा घुमेका पर्यटकहरुले राति रमाइलो गर्न सांस्कृतिक कार्यक्रम खोज्ने भएकाले थारु नृत्य प्रस्तुत गर्ने गरेको बताउँछन् । ‘रिसार्टमा धेरै पाहुना आउँदा हामीले आफै पनि कल्चरल ग्रुपलाई बोलाउँछौं । कति पाहुनाले कल्चरल प्रोग्राम के छ भनेर पनि डिमान्ड गर्छन्’, प्रबन्ध निर्देशक घिमिरेले प्रष्ट पारे, ‘प्रत्येक शुक्रबार हामीले अनिवार्य कल्चरल प्रोग्रामको रुपमा थारु नृत्य राख्ने गरेका छौं । अरु बारमा भने पाहुनाको माग र चापमा भरपर्छ ।’
थारु संस्कृतिलाई देशभर होमस्टेले पनि बढावा दिइरहेका छन् । होमस्टे महासंघका केन्द्रीय महासचिव कृष्णलाल चौधरी होमस्टेमा थारु कला, संस्कृति र परिकारहरु राखेर संरक्षण र सम्बद्र्धन भइरहको बताउँछन् । देशका विभिन्न स्थानका पर्यटकीय क्षेत्रमा थारु गीत र नृत्य प्रस्तुत भइरहेको छ । चौधरीका अनुसार देशका ६८ जिल्लाका सात हजार घरमा एक हजार पाँच सय होमस्टे छन् । बर्दियामा १२, कैलालीमा ८, बाँके र कञ्चनपुरमा तीन तीन गरी देशभरका थारु बाहुल्य क्षेत्रमा एक सयको हाराहारीमा थारु होमेस्टे छन् । चौधरी भन्छन्, ‘थारु कला संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि होमेस्टेले काम गरेका छन् । होटल तथा रिसोर्टले पनि थारु कला र संस्कृतिलाई प्राथमिकतामा दिएका छन् ।’
बाँकेको बैजनाथ गाउँपालिकाको पर्यटकीय क्षेत्र गाभर भ्यालीको च्यामा क्षेत्रमा थारु भिलेज ग्राम बनाउन थालिएको छ । जहाँ थारु जातिका परम्परागत परिकार (ढिकीमा कुटेको चामल, जाँतोमा पिसेको पिठो, कोलमा पेलेको तेल)लाई प्याकेजिङ गरेर बिक्री गर्ने र त्यहाँ पुग्ने पर्यटकले परम्परागत परिकार पकाएर खाने व्यवस्था गरिँदैछ । ‘थारुको पूरानो संस्कृति संरक्षण गर्न थारुका रैथाने खाना, परिकार, भेषभुषा, खपडाको परम्परागत घरसहित थारु भिलेज ग्राम बन्दैछ । होमस्टेकै रुपमा बन्छ । सुरुमा एक तिहाइ घरमा थारु ग्राम होमस्टेकै रुपमा बन्छ । सुरुमा एक तिहाइ घरबाट सुरु गरेर एक सय घरमै होमेस्टे बनाउने तयारी भइरहेको छ’, महासचिव चौधरीले भने, ‘पर्यटकीय क्षेत्रले थारु परिकार, कला र संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न निकै मद्दत गरिरहेका छन् । सरकारले पनि यस्तो कामलाई प्रोत्साहन गर्नुपर्छ ।’