विपद व्यवस्थापनका लागि नेपालगन्जमा दक्ष स्वयंसेवक उत्पादन गर्दै सुपर प्रोजेक्ट

नेपालगन्ज : विपद व्यवस्थापनलाई लक्षित गरी नेपालगन्ज सहरमा चार सय जना दक्ष स्वयंसेवक उत्पादन सुरु भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडीपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर प्रोजेक्ट)ले शिक्षक, सामाजिक अगुवा, युवा क्लबका सदस्यलाई आगजनी नियन्त्रण, प्राथमिक उपचार र खोज तथा उद्दार सम्बन्धी तालिम दिन सुरु गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी बाँकेका दोलखबहादुर डाँगी संयोजक रहेको तालिममा निरञ्जना मल्ल, झविलाल शर्मा, प्रल्हाद विश्वकर्मा र सुशील चौधरीले सहजीकरण गरेका थिए । प्राथमिक उपचार सम्बन्धी चार दिने तालिमको नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका थिए भने उप प्रमुख कमरुद्दिन राईले समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र र फस्ट एड किट वितरण गरेका थिए ।

तालिममा नेपालगन्ज उपमहानगरपालिकाकोे वठा नं. ३ र ७ का दुई मदरसा, सात सामुदायिक विद्यालय, सामुदायिक अगुवा र युवा क्लबका गरी २५ जनाको सहभागिता रहेको थियो । सुपर प्रोजेक्टले नेपालगन्जमा आगजनी नियन्त्रण, प्राथमिक उपचार र खोज तथा उद्दारको १४ वटा तालिमबाट चार सय जना दक्ष स्वयंसेवक उत्पादन गर्ने प्रोजेक्टका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।