नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : समावेशी प्यानल जुट्यो प्रचारमा, खुल्यो सचिवालय

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि वर्तमान प्रवक्ता टंक धामी नेतृत्वको समावेशी प्यानल औपचारिक रुपमा चुनावी प्रचारमा जुटेको छ । शुक्रबार नेपालगन्जको न्युरोडमा समावेशी प्यानलले सचिवालय उद्घाटन गरेको छ ।

प्यानलका संरक्षक संघका पूर्वअध्यक्ष स्व.दामोदर आचार्यकी धर्मपत्नी पार्वता आचार्यले सचिवालयको उद्घाटन गरेकी हुन् । कार्यक्रममा संरक्षण आचार्य, लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठ, संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, पूर्वअध्यक्ष नन्दलाल वैश्य, प्र्रचार प्रसार समिति संयोजक ईश्वर पोखरेल लगायतले पार्टी, धर्म, वर्ग, लिङ्ग, व्यवसायिक क्षेत्रका हिसाबले सबैलाई समेटेर साँचीकै समावेशी प्यानल बनेकाले चुनावमा एकताबद्ध भएर लाग्न र जितको अग्रीम शुभकामना दिएका थिए ।

संघको वर्तमान कार्य समितिका अधिकांश पदाधिकारी र निवर्तमान अध्यक्ष रहेको समावेशी प्यानलले संघका प्रवक्ता टंक धामीलाई अध्यक्षका रुपमा अघि सारेको छ । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध उद्योगी व्यवसायीका संघसंस्थाले सहकार्य गरेको प्यानलमा नेपाली कांग्रेस बाहेकका सबै दल निकट अधिकांश व्यवसायीलाई समेटिएको र केहीलाई समेट्ने प्रयास भइरहेको प्रचार प्रसार समितिका संयोजक पोखरेलले जानकारी दिए । आन्तरिक रुपमा अधिकांश पदमा प्यानलमा सहमति जुटिसकेको भए पनि केही समूहसँग सहकार्यको अन्तिम प्रयास भइरहेकाले अध्यक्षमा धामी बाहेक पदका प्रत्यासीको भने नाम सार्वजनिक गरिएको छैन । आगामी भदौ २ गते संघको निर्वाचन हुँदैछ ।