सत्ती-कर्णाली सामुदायिक वनको बजेट एक करोड !

मानबहादुर ठकुल्ला । टीकापुर
एउटा सामुदायिक वनको वार्षिक बजेट एक करोड रुपैयाँ ! खबर सुन्दा अचम्म लाग्नसक्छ । कैलालीको टीकापुर नगरपालिका ७ सत्तीमा रहेको सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहले शनिबार सम्पन्न ३०औं वार्षिक साधारणसभामा चालु आर्थिक वर्षका लागि एक करोड तीन लाख १४ हजार एक सय बराबरको अनुमानित आयव्यय सार्वजनिक गरेको हो । यसअघि आव ०७९ ०८० मा भने ७४ लाख १३ हजार ७७५ रुपैयाँ बराबरको आयव्यय रहेको थियो ।
सभामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी थिए । मन्त्री धामीले सुदुरपश्चिम प्रदेशकै नमुनाका रुपमा रहेको यस सामुदायिक वनले उत्पादन गर्ने बेतबाँस र त्यसबाट निर्माण गरिने सामग्रीहरुको बजारीकरण गर्नका लागि आफू लागि पर्ने र बेतबाँसबाट उत्पादन गरिने सामग्रीलाई ब्रान्डका रुपमा चिनाउने योजना बनाउने बताए ।
सामुदायिक वनका अध्यक्ष धनसिंह साउँदको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा संविधानसभा सदस्य हरि ज्ञवाली, सामुदायिक वनका उपाध्यक्ष पलबहादुर बस्नेत, पत्रकार भीम बिक, साबिक धनसिहपुर गाविसका पूर्वअध्यक्ष जंगबहादुर साउँद, टीकापुर नगरपालिका वडा न ६ का अध्यक्ष बलीराम चौधरी, वडा न ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने, वडा न ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्ला लगायतले वनको सफलताको कामना गरेका थिए ।
सामुदायिक वनले साधारण सभामा समाजसेवी गोविन्द श्रेष्ठले बेसहारा तथा अपाङ्गता भएका १० जना व्यक्तिलाई कम्मल सहयोग गरेका थिए । त्यसैगरी सामुदायिक वनका उपाध्यक्ष पलबहादुर बस्नेतले ३ घरपरिवारलाई ५० किलो चामल, दाल २ किलो, खाने तेल ५ लिटर, दुई किलो नुन प्रति परिवारलाई सहयोग गरेका थिए । अध्यक्ष धनसिह साउदले १२ जना उत्कृष्ट तथा जेहेनदार बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेका थिए ।
सामुदायिक वनको तर्फबाट १३५ जना जेष्ठ नागरिकलाई कम्मल वितरण गरेर सम्मान गरिएको सामुदायिक सचिव मीनबहादुर ठकुल्लाले जानकारी दिए । त्यस्तै, खेलकुद क्षेत्रमा राष्ट्रिय फुटबल खेलाडी माधव भण्डारीलाई फुटबल जुत्ता र ट्रयाक सुटसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।नेपालमै बेतबासले परिचित सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहले आय आर्जन र सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको छ । सामुदायिक वनसँग सेवा दिनका लागि एम्बुलेन्स सञ्चालनमा रहेको छ ।