संस्कृतमा पीएचडी गर्ने मुस्लिम महिला भनिएकी तबस्सुमले संस्कृत विश्वविद्यालयबाट उपाधि लिएकी हुन्, संस्कृतमा होइन (यस्तो छ वास्तविकता)

नेपालगन्ज : नेपालगन्जकी चेली । त्यसमा पनि मुस्लिम । संस्कृतमा पीएचडी गरेको खबर सनसनी हुनु स्वभाविकै थियो । बिहीबार बिहानैदेखि सामाजिक सञ्जाल रंगिएको थियो, ‘संस्कृतमा पहिलो पटक पीएचडी गर्ने मुस्लिम महिला नेपालगञ्जकी तबस्सुम सिद्धिकीलाई हार्दिक बधाई ।’ उनको फोटो र संस्कृत र अंग्रेजी भाषामा लेखिएको पीएचडी उपाधिको प्रमाण पत्रको फोटो हेर्दा सामाजिक सञ्जालको स्टाटस झुटो मान्न सकिने अवस्था पनि थिएन । सदभावको सहरको परिचय पाएको नेपालगन्जकी चेलीले संस्कृृतमा पीएचडी गरेकोलाई कतिले ‘सहिष्णुताको राम्रो उदाहरण’ पनि भन्न भ्याए ।
मेरोखुसी डटकमलाई पनि खुसी नहुने कुरै भएन । उनको अन्तरवार्तासहितको समाचार लेख्दा अझै धेरै जनालाई खुसी बनाउन सक्ने लाग्यो । सामाजिक सञ्जालकै भरमा समाचार लेख्नुु पक्कैै विश्वसनीय थिएन । होइन पनि । पत्रकार शंकालु हुन्छ । शंका लाग्यो । खोज्दै जाँदा तबस्सुमले पीएचडी उपाधि हासिल गरेको त सत्य नै रहेको पुष्टि भयो । पत्रकार आरिफ अन्सारीबाट उनी उच्च अदालतका पूर्वन्यायाधीश डा. सलाहुद्दीन अख्तर सिद्दीकीकी छोरी भएको पत्ता लाग्यो । ८ सेप्टेम्बर २०२३ मा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले तबस्सुम सिद्दीकीलाई पीएचडी डिग्री प्रदान गर्ने निर्णय गरेको भनेर बधाइ दिँदै उनका बुबाले फेसबुकमा स्टाटस लेखेका रहेछन् । सलाउद्दिन भारत भ्रमणमा रहेकाले मोबाइलमा सम्पर्क हुन सकेन । ह्वाटएपबाट सम्पर्क गर्ने प्रयास पनि सफल भएन । तबस्सुमले ‘नेपालको हिन्दु र इस्लामिक वास्तुकलाको तुलनात्मक अध्ययन, समकालीन वास्तुकलामा यसको प्रभाव’ विषयमा शोध पूरा गरेर पीएचडीको उपाधि लिएकी हुन् । शोधपत्रमा उनले प्रयोेग गरेको भाषा अंग्रेजी हो ।
खोज्दै जाँदा सिद्धिकीका बाबाछोरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको समाचार पनि भेटियो । यो पार्टीको बाँके नेतृ करिश्मा योगीसँग कुराकानी भयो तर तबस्सुमको मोबाइल नं.फेला परेन । उनलाई फेसबुकमा पनि खोेजियो । त्यस क्रममा अन्नपूर्ण पोस्ट् दैनिकको केन्द्रीय कार्यालय काठमाडौंमा जिल्ला ब्यूरो प्रमुख रामकला खड्कासँग फेसबुकमा साथी भएको पत्ता लाग्यो । खड्काले तबस्सुमसँग टेलिफोन सम्पर्क गरिन् । तबस्सुमले खड्कासँग संस्कृत भाषामा होइन, संस्कृत विश्वविद्यालयबाट अंग्रेजी माध्यममा पीएचडी उपाधि हासिल गरेको बताइन् ।
तबस्सुमका बुबा सलाहुद्दिनले भने हिन्दुशास्त्रमा पीएचडी गरेका छन् । मुस्लिम समुदायको पवित्रग्रन्थ कुरान पढेर अल्लाहको प्रार्थना गर्ने पाटन पुनरावेदन अदालतका पूर्वन्यायाधीश सलाहुद्दिन अख्तर सिद्दिकीले हिन्दुशास्त्र ‘मनुस्मृति’मा विद्यावारिधि पूरा गरेका हुन्।
नेपालगन्ज उपमहानगरपालिका ९ इदगाह रोडमा घर भएकी तबस्सुमले ललितपुरको महालक्ष्मी नगरपालिका १६ इमाडालमा कार्यालय राखेर द मदर फाउन्डेसन नामक संस्था पनि सञ्चालन गरेकी छन् । उनी संस्थाको सभापति नै हुन् । उनका बुबा संस्थाको संस्थापक र प्रमुख सल्लाहकार रहेका छन् । संस्कृत भाषामा नभए पनि पीएचडी गर्ने पहिलो मुस्लिम महिला भनेर तबस्सुमको चर्चा घटेको छैन । मेरोखुसीको तर्फबाट पनि धेरे धेरै बधाइ छ, तबस्सुम ।