१५औं बाँके जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

नेपालगन्ज : १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८०’ सञ्चालनमा आएको छ । बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा नेपालगन्ज रंगशालामा उक्त प्रतियोगिता सुरु भएको हो । लुम्बिनी प्रदेश सभा सदस्य माया पुनले प्रतियोगिताको शनिबार नेपालगन्जमा उद्घाटन गरिन् ।
जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष संदिपजंग शाहको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रमा भारत्तोलनका ओलम्पियन तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्रबहादुर हमाल, नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्वअध्यक्ष मोहित शाह, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका अध्यक्ष टेकेन्द्र मल्ल लगायतले प्रतियोगिता सफलताको कामना गरेका थिए ।

आगामी २९ माघसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल, भलिबल, कराँते, एथलेटिक्स, मार्सल आर्ट, दौड, शटपट, कबड्डी, हाइजम्प, लङजम्प,लगायत विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको आयोजक जिल्ला खेलकुद विकास समिति बाँकेका उपाध्यक्ष चेतकान्त भट्टराईले जानकारी र्दिए । जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएपछि आगामी फागुन ११ गतेदेखी १३ गतेसम्म बुटवलमा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाका उत्कृष्ट खेलाडीले सहभागिता जनाउनेछन् ।