‘दक्षिण एशियामै पहिलो पटक’ बर्दियामा महिला समलिङ्गी (लेस्बियन) जोडीको विवाह दर्ता

महिला समलिङ्गी (लेस्बियन)को विवाह दर्ता गरेका अन्जुदेवी श्रेष्ठ र सुप्रिता गुरुङ 

नेपालगन्ज : बर्दियाको बढैयाताल गाउँपालिकाले महिला समलिङ्गी (लेस्बियन)को विवाह दर्ता गरेको छ । नेपालमा समलिङ्गीको विवाह दर्ता दोस्रो र लेस्बियन जोडीको विवाह भएको पहिलो हो । सामाजिक सञ्जाल फेसबुकबाट जोडिएर पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल–२ का हर्खबहादुर श्रेष्ठ र टीकाकुमारी श्रेष्ठका ८ सन्तानमध्ये ३३ वर्षीया दुलाहा अन्जुदेवी श्रेष्ठ र तनहुँको बन्दीपुर गाउँपालिका–५ का शेरबहादुर गुरुङ र माया गुरुङका चार सन्तानमध्ये कान्छी छोरी ३३ वर्षीया दुलही सुप्रिता गुरुङको आइतबार मात्र गाउँपालिकाले विवाह दर्ताको प्रमाण पत्र दिएको हो ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वकालत गर्दै आएका सामाजिक संस्था पश्चिम तारा नेपाल नेपालगन्ज र मायाको पहिचान नेपाल काठमाडौंले दक्षिण एशियामा नै पहिलो पटक लेस्बियन जोडीको विवाह दर्ता भएको दाबी गरेको छ । लेस्बियन जोडीले विवाह दर्तापछि सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर खुसी साँटेका थिए । पत्रकार र समलिङ्गी साथीहरुलाई भोज पनि खुवाएका थिए ।
पत्रकार सम्मेलनमा २३ वर्षदेखि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वकालत गर्दै आएका संविधानसभा सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्त, नेपालमै पहिलो पटक समलिङ्गी विवाह दर्ता गर्ने लमजुङका सुरेन्द्र पाण्डे, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको क्षेत्रमा कार्यरत संस्था पश्चिम तारा नेपालकी अध्यक्ष परीना चौधरीलगाायत ठूलो संख्यामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरु पत्रकार सम्मेलनमा सहभागी भएर बरबधुलाई बधाइ तथा शुभकामना दिएका थिए । विवाह दर्ता भएको खुसीमा केक पनि काटेका थिए ।