लाज ढाक्न नेपालगन्जका सरकारी विद्यालयको ८ कक्षाको नजिता दोब्बर बढाएर प्रकाशित !

कमरुद्धिन राई : नगर उप-प्रमुख, नेपालगन्ज उपमहानगरपालिका

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा समितिले नगरका सामुदायिक विद्यालयमा कक्षा ८ को नतिजा कमजोर देखिएपछि लाज ढाक्न उत्तीर्ण प्रतिशत दोब्बर बढाएको रहस्य खुलेको छ ।
नगर शिक्षा समितिका सदस्य समेत रहेका नगर उप प्रमुख कमरुद्धिन राईले आइतबार पत्रकार डाकेर यस्तो रहस्य खोलेका हुन् ।
‘यो वर्ष सामुदायिक विद्यालयको १९ प्रतिशत मात्र नतिजा आयो । त्यसमा २५ प्रतिशत थपेर ४५ प्रतिशत बनाउने कुरा भयो । सामुदायिक विद्यालयको लाज ढाक्न २० प्रतिशत थपेर नतिजा प्रकाशित भयो । बोर्डिंगको ८० प्रतिशत नतिजा आएको छ’, उनले गुनासो गरे, ‘८ कक्षा पास भएका विद्यार्थीले एबीसीडी र कखगघ पनि लेख्न जान्दैनन् ।’
नगर शिक्षा समितिको सिफारिसमा महाशाखाले ३० चैत, २०८० मा सामुदायिक विद्यालयतर्फ ३९ प्रतिशत र संस्थागत विद्यालयबाट ८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको नतिजा प्रकाशन गरेको थियो । नगरमा कुल ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
विगतमा पनि २९ प्रतिशत नतिजा आएकोमा बढाएर ७० प्रतिशत बनाइएको उनले अनुभव सुनाएका थिए ।
नतिजा प्रतिशत दोब्बर बढाएर शिक्षा समिति र महाशाखाले गरिब विद्यार्थीको भविष्यमाथि खेलवाड गरेकाले शिक्षा महाशाखाका जिम्मेवार ब्यक्तिले राजिनामा दिनुपर्ने उनले तर्क गरेका छन् ।