बालसुधार गृहमा लायन्स र लियो क्लबद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

नेपालगन्ज : बाँकेका लायन्स र लियो क्लबहरुले बाँकेको जयेन्दु बालसुधार गृहमा एक दिने निःशुल्क स्वास्थ्य शिविर गरेका छन् ।
लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको १४६औं जन्मजयन्तीको अवसरमा आयोजित साप्ताहिक सेवाका कार्यक्रम अन्तर्गत पाँचौं दिन लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभ, लायन्स क्लब अफ नेपालगन्ज सिटी, लियो क्लब अफ नेपालगन्ज इनोभेटिभ र लियो क्लब अफ नेपालगन्ज सिटीले कृपा हस्पिटल प्रा.लि.सँगकोे सहकार्यमा शनिबार संयुक्त रुपमा स्वास्थ्य शिविर आयोजना गरेका हुन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका निवर्तमान गर्भनर मुकुट ढकालले शिविरको उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा निवर्तमान गर्भनर ढकालले विश्वव्यापी रुपमा समाजसेवाको नेतृत्व गरिरहेको लायन्स क्लबहरुले नेपालमा पनि विविध कार्यक्रम गरेर सेवाका राम्रा राम्रा काम गरिरहेको भनेर प्रशंशा गरे ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका प्रथम भीडीजी ज्ञानेन्द्रकुमार श्रेष्ठले बालसुधार गृहमा बाल बिझ्याइमा परेका बालकलाई सम्बोधन गर्दै विगतमा अन्जानमा गरेको गल्ती वा लहलहैमा लागेर भएको गलत कुरा बिर्सेर सुन्दर भविष्य बनाउन लाग्न सुझाव दिए । उनले बालसुधार गृहका बालकलाई सीपमूलक तालिम दिएर उत्पादनमा लगाउन आग्रह गर्दै सम्भव भएसम्म सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
बालसुधार गृहका प्रमुख विमला काउचाले सधैंको समस्याको रुपमा छालाको समस्या रहेको बताउँदै सहयोग गर्ने लायन्स क्लबहरुलाई धन्यवाद दिइन् ।
लायन्स क्लब अफ नेपालगन्ज सिटीका अध्यक्ष डा.प्रविणकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष शंकरप्रसाद खनालले शिविर सञ्चालनको उद्देश्यबारे प्रकाश पारेका थिए ।

स्वास्थ्य शिविरमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल तथा कृपा हस्पिटलका बरिष्ठ मुत्र तथा मिर्गौला रोग विशेषज्ञ डा. प्रविणकुमार गुप्ता, कृपा हस्पिटलका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.राहुल मिश्रा, छाला रोग विशेषज्ञ डा.अस्मिता गौतम, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका मेडिकल अधिकृत डा.चैतन्य गुप्ताले स्वास्थ्य परीक्षण गरेका थिए ।

उपचारमा संलग्न डा. प्रविणकुमार गुप्ताका अनुसार बालसुधार गृहका अधिकांश बालकमा छाला सम्बन्धी समस्या पाइएको थियो । पिसाब गर्दा जलन हुने, निद्रा नलाग्ने, शीघ्र पतन र कमजोरीका स्वास्थ्य समस्याहरु रहेको उनले बताए ।

शिविरमा कृपा हस्पिटलका फार्मेसी स्टाफ रेणु वर्मा, दिव्या दिक्षीत, धीरज सिंह तथा स्टाफ नर्स निर्मला विष्ट र एच.ए. पुरन नेपालीले प्राविधिक सहयोग गरेका थिए । लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष हिरामणि दाहाल र लियो क्लब अफ नेपालगन्ज सिटीका अध्यक्ष सरस्वती क्षेत्री नेतृत्वमा झन्डै एक दर्जन लियोकर्मीले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए ।

जे.डी. बिजनेस सेन्टर नेपालगन्जका सञ्चालक तथा लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभका उपाध्यक्ष ऋचा लुँइटेलले खाजा स्पोन्सर गरेकी थिइन् ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका पूर्व गर्भनगर शेमराज शाक्य, डिष्ट्रिकका निवर्तमान सचिव उमा थापा मगर, निवर्तमान फस्ट लेडी मीना सुवेदी ढकाल, लायन्स र लयो क्लबका पूर्व तथा वर्तमान पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । जयेन्दु बालसुधार गृहका प्रमुख विमला काउचाका अनुसार शनिबारसम्म सुधार गृहमा २७३ जना बालकहरु रहेका थिए । तीमध्ये स्वास्थ्य समस्या भएका २१७ जनाको निःशुल्क स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण गरिएको थियो ।