कमल संघर्षको नेपालगन्जमा खस भाषाको एकल गजल वाचन

नेपालगन्ज : अछामका गजलकार कमल संघर्षले नेपालगन्जमा खस भाषाको एकल गजल वाचन गरेका छन् ।
बास नेपालले सोमबार नेपालगन्जमा आयोजनामा गरेको इन्सपाइरिङ युथको ३३२औं श्रृंखलामा गजलकार संघर्षले करिब डेढ घण्टा दर्जनौं गजल वाचन गरेर गजल पारखीको मन जितेका थिए । उनले गजलमार्फत लुम्बिनी, सुदूर र कर्णालीको झल्को मात्र दिएनन् तराई र पहाडबीचको सुमधुर सम्बन्धलाई पनि जोडेका थिए :

लेकका काफल सम्झ्या बेला औलका आम सम्झ्या बेला !
पहाड बाइजाउँ सुत्ता छौ कि तराइको घाम सम्झ्या बेला !!
०००
सुदूर कर्नालीका लासहरू हुन् स्टेचरमा बोकिने !
हेलिकप्टर त सरकारलाई केक बोकेर हिँड्छ !!

राज्यको अर्बौ सकेर भ्यु टावर बनाउने शासकहरुलाई उनले यसरी व्यंग्य गरे :
देखिएला तिम्रै काठमाडौं देखिएला !
मेरा अछाम देखिदैंन धरहराबाट !!

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले उद्देश्य प्रकाश पारेको कार्यक्रमको सहजिकरण बास नेपालका कार्यक्रम अधिकृत रविन्द्र बोहराले गरेका थिए । सो अवसरमा इन्सपाइरिङ युथ कार्यक्रम सफल पार्नका लागि विशेष योगदान दिने निम्स नेपालगन्जका प्रमुख सुनिलकुमार गुप्तलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले र बास नेपालका अध्यक्ष शिवकुमार वर्मा लगायतले सम्मान गरेका थिए ।