विद्यार्थीले विद्यालयमै गर्छन्, फोहर वर्गीकरण !
नेपालगन्ज : बाँकेमा विद्यार्थीले फोहर वर्गीकरणको ज्ञान विद्यालयबाटै सिकिरहेका छन् ।
द कोकाकोला फाण्डेशनको आर्थिक सहयोगमा बास नेपाल र स्वच्छ सफा नेपाल (क्लिन अप नेपाल)ले ग्रीन नेपालगन्ज सामुदायिक फोहर रुपान्तरण परियोजना अन्तर्गत विद्यालयहरूमा लागू गरिएको शून्य फोहर कार्यक्रमले सरसफाइबारे यस्तो ज्ञान सामुदायिक र संस्थागत विद्यालय तहबाटै सिकाएको हो ।
परियोजनाले बुधबार नेपालगन्जमा आयोजना गरेको समीक्षा कार्यक्रममा ज्ञानसागर माध्यमिक विद्यालयका प्रधानाध्यापक होमनाथ खड्का भने, “पहिले फोहर जताततै फालिने अवस्था थियो । अहिले विद्यार्थीहरूले आफैं वर्गीकरण गरी व्यवस्थापन गर्न थालेका छन् ।”
जयजनता माध्यमिक विद्यालय थपुवाकी शिक्षिका शान्ति गौतमले विद्यालयमा ‘शून्य फोहोर’ अवधारणालाई संस्कृतिका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
महानगरको सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले शून्य फोहर कार्यक्रमले बालबालिकामा सानैदेखि सरसफाइ, फोहर वर्गीकरण र पुनःप्रयोग सम्बन्धी व्यवहारिक सीप सिकेको बताए ।
उपमहानगरका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले कार्यक्रमले विद्यालय तहमा सरसफाइ सचेतना अभिवृद्धि गर्दै सिकाइको महत्वपूर्ण आधार तयार गरेको दाबी गरे ।
बास नेपालका केन्द्रीय महासचिव कल्पना अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत र कार्यक्रम अधिकृत रविन्द्र बोहराले कार्यक्रमको उद्देश्य, कार्यान्वयन प्रक्रिया, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा “शून्य फोहर कार्यक्रम” प्रभावकारी देखिएको निष्कर्ष निकाल्दै यसको दिगोपनामा जोड दिइएको थियो ।








