खजुरा गोल्डकपको उपाधि नाइजेरियन जष्ट जोनलाई

खजुरा : बाँकेको खजुरामा जारी एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाइजेरियन टोली जष्ट जोन एफसीले हात पारेको छ ।
न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा खजुरा गाउँपालिका ४ डीगाउँस्थित मिनी रंगशालामा आइतबार भएको फाइनलमा नाइजेरियन टोली जष्ट जोनले जेविएम क्लब लखनउ भारतलाई ४–० गोलले हरायो । नाइजेरियाको जितमा क्लब कोनले दुई गोल गरे । यसैगरी एडवार्ड थोमस र ओलावी अफीजले एक एक गोल गरे । प्रतियोगितामा नाइजेरियाका गोलरक्षक लेकन शितु, उत्कृष्ट रक्षक र म्यान अफ दि म्याच बिल्गो, एडवार्ड प्लेयर अफ दि पिस घोषित भए । यसैगरी जेबिएम लखनउका क्षितिज मगर उत्कृष्ट मिडफिल्डर र फोर ब्रदर्श एफसी नवलपरासीका नवीन महतो सर्बाधिक गोलकर्ता बने ।
खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले विजेता नाईजेरियन जष्ट जोनलाई सात लाख रुपैयाँ प्रदान गर्नुभयो । विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लीलबहादुर थापाको सौजन्यमा प्रदान गरिएको हो । उपविजेता जेविएमले चार लाख रुपियाँ पायो। साथमा ट्रफी मेडल र प्रमाणपत्र आयोजकले वितरण गर्यो । उत्कृष्ट खेलाडीहरुलाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल लगायतले पुरस्कृत गर्नुभएको थियो ।