सर्वदा सम्मान घिमिरे र सर्वदा पुरस्कार भण्डारीलाई प्रदान
नेपालगन्ज : सर्वदा साहित्य संगम बाँकेले यस वर्षको सर्वदा साहित्य सम्मान प्रा.डा. कृष्णप्रसाद घिमिरे र बागेश्वरी सर्वदा पुरस्कार समालोचक डा. इन्द्रबहादुर भण्डारी इन्द्रेणीलाई प्रदान गरेको छ ।
संस्थाले शनिबार नेपालगन्जमा आयोजित कार्यक्रममा नेपाली भाषा साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान दिनु भएका त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रिय विभागका पूर्वप्रमुख तथा लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य, समालोचक घिमिरेलाई प्रदान गरिएको हो ।
त्यसैगरी सोही समारोहमा बागेश्वरी सर्वदा पुरस्कार कवि, आख्यानकार, समालोचक भण्डारीलाई प्रदान गरिएको थियो । सर्वदा साहित्य संगम बाँकेका अध्यक्ष खगेन्द्र गिरी कोपिलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँकेका साहित्यकार तथा समालोचकहरुको सहभागिता रहेको थियो ।









