अवैध कारोबारमा संलग्न जोसुकैलाई कारबाही हुन्छ : प्रजिअ हमाल
संजय आचार्य । गुलरिया
बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले तस्करी, कालाबजारी तथा अबैध कारोबारमा संलग्न जोसुकैलाई पनि तत्काल कारबाही गरिने बताउनुु भएको छ ।
उद्योग वाणिज्य संघ गुलरिया बर्दियाले आयोजना गरेको क्यालेन्डर लोकार्पण कार्यक्रममा बोल्दै उहाँले कुनै पनि निकाय, व्यक्ति वा समूह मिलेमतोमा तस्करी, कालाबजारी वा अवैध काममा संलग्न भएको पाइएमा कडा कानुनी कारबाही गरिने बताउनु भएको हो ।
उहाँले सीमावर्ती क्षेत्रमा पछिल्लो समय भन्सार, अवैध सामान ओसारपसार तथा अनियमित कारोबारका विषयमा प्रशासन गम्भीर रहेको उल्लेख गर्दै व्यवसायी, सुरक्षाकर्मी र स्थानीय नागरिक सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन प्रशासन प्रतिबद्ध रहेको पनि उहाँको भनाइ थियो ।
कार्यक्रममा संघका अध्यक्ष देवेन्द्र पाण्डेले स्थानीय पहिचान, संस्कृति र सम्भावनालाई उजागर गर्दै स्थानीय मठमन्दिर, पर्यटकीयस्थल तथा स्थानीय उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यले क्यालेन्डर प्रकाशन गरिएको बताउनु भयो ।
उहाँले सीमा नाकामा भइरहेको कडाइ व्यवसायीको हितका लागि नै भएको भन्दै विगतमा पनि अवैध कारोबार रोक्न सम्बन्धित निकायमा पटक–पटक ध्यानाकर्षण गराइएको स्मरण गर्नुभयो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै सङ्घका पूर्व सचिव पुष्कर सापकोटाले व्यवसाय सञ्चालनका लागि लिएको ऋण तिर्न नसकेर धेरै व्यापारी लिलामीको अवस्थामा पुगेको धारणा राख्नुभयो । यस्तो कठिन अवस्थामा राज्यले हालै लिएका केही निर्णयहरूले व्यवसायीलाई राहत मिलेको उनको भनाइ थियो।
भारतीय सीमा नाकासँग जोडिएका कारण स्थानीय व्यापारीहरूले विभिन्न समस्या भोगिरहेको अवगत गराउँदै नेपाल पत्रकार महासंघ बर्दियाका सचिव यज्ञ सापकोटाले सीमा नाकामा कडाइ भइरहँदा एकातर्फ अवैध कारोबार नियन्त्रण हुने भए पनि अर्कोतर्फ बजारमा महँगी बढेर उपभोक्ता मारमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले नियमित बजार अनुगमन आवश्यक रहेको सुझाव दिनुुभयो ।
संघका महासचिव मोहित पौडेलले सञ्चालन गरेको कार्यक्रममा संघ वरिष्ठ उपाध्यक्ष इन्द्र श्रेष्ठले सीमा नाकामा हुने छुटफुट अवैध कारोबारमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाहीको माग गर्नु भएको थियो । उहाँले यस्ता गतिविधि रोक्न व्यवसायी समुदायले आवश्यक सहयोग गर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख सरोज पौडेल, सशस्त्र प्रहरी बल ३१ नम्बर गणका एसपी दिनेशकुमार महत, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख रमेशसिंह डाँगी, उद्योगी–व्यापारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।









