समाजका हानिकारक अभ्यास अन्त्य गर्न संवाद

संजय आचार्य । गुलरिया
समाजका हानिकारक अभ्यास अन्त्य गर्न बर्दियामा सरोकारवालाबीच संवाद गरिएको छ ।
यूएन वुमन तथा युके इन्टरनेशनल डेभ्लोपमेन्टको आर्थिक सहयोगमा हाम्रो साहसले मंगलबार गुलरियामा आयोजित कार्यक्रममा
लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणमा आधारित सामाजिक हानिकारक मूल्य–मान्यताहरू रूपान्तरण गर्दै सुरक्षा, गोपनीयता र मर्यादा कायम गरी सबै प्रकारका हिंसा रोकथाम गर्ने उद्देश्यले जिल्ला स्तरीय संवाद कार्यक्रम गरिएको हो ।

कार्यक्रममा परियोजना संयोजक तेजमणि पन्थले परियोजना सम्बन्धी प्रस्तुतीकरण गर्नु भएको थियो । उहाँले हाम्रो साहस प्रोजेक्ट रूपान्तरण परियोजनाको उद्देश्य प्राप्त उपलब्धी र चुनौतीबारे जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रममा समुदाय परिचालन र सशक्तिकरण, लैङ्गिक हिंसा रोकथाम, पुरुष तथा महिलाको समान सहभागिता, सकारात्मक पुरुषत्व प्रबर्द्धन, हेरचाहसम्बन्धी कामको समान बाँडफाँड, हानिकारक अभ्यास तथा विभेदकारी सामाजिक मान्यताको अन्त्य, साथै महिलाको नेतृत्व क्षमता र राजनीतिक सहभागिता सुदृढ गर्ने उद्देश्य रहेको पन्थले बताउनु भयो ।
परियोजना अन्तर्गत स्थानीय पालिकासँग सम्झौता, परियोजना जानकारी, समूह गठन तथा परिचालन, पालिका स्तरीय नीति संवाद, हानिकारक अभ्यास न्यूनीकरणका लागि आधारभूत सर्वेक्षण, रूपान्तरण कक्षा सञ्चालन, सहजकर्ता छनोट, सांकेतिक भाषा तालिम, मनोसामाजिक परामर्शलगायतका विभिन्न गतिविधि सञ्चालन गरिएको जानकारी गराइएको थियो ।
कार्यक्रममा संस्थाले परियोजना कार्यान्वयन भइरहेका पालिकाहरूमा आफ्ना आन्तरिक नीतिहरूको समीक्षा गरी आवश्यक नीतिहरू विकास गरेको तथा समुदायस्तरमा विभिन्न समस्याको समाधानका लागि समूहगत रूपमा पहल भएको उपलब्धि प्रस्तुत गरिएको थियो।
विशेषगरी गाउँ नजिकैको पिकनिक स्थलमा ठूलो आवाजमा डीजे संगीतका कारण समुदायमा सिर्जना भएको असहजता व्यवस्थापनका लागि समूहले नगरपालिकामा निवेदन दिएको, महिलाहरूले सार्वजनिक खानेपानी धारा जडानका लागि पहल गरेको, अपाङ्गता परिचयपत्र नवीकरणका लागि निवेदन दिएको तथा बेकरी सञ्चालनका लागि बजेट प्राप्त गरी काम सुरु गरेको जस्ता उपलब्धिहरू साझा गरिएको थियो।
सहभागीहरूले स्थानीय तहमा सहकार्य गर्दै हिंसा रोकथामका लागि प्रभावकारी योजना निर्माण र कार्यान्वयनमा जोड दिएका थिए। अझ बढी चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, विद्यालयस्तरमा विशेष अभियान चलाउनुपर्ने तथा बालविवाह रोकथामका लागि थप प्रभावकारी काम गर्नुपर्नेमा विशेष जोड दिइएको थियो।
संवाद कार्यक्रममा समुदायस्तरमा विद्यमान विभेद, असमानता तथा सामाजिक हानिकारक अभ्यास अन्त्य गर्न सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।
थारु महिला उत्थान केन्द्रकी अध्यक्ष राजकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष सूर्यबहादुर विष्ट र हुनुहुन्थ्यो ।