बर्दियालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

ठाकुरद्वारा : बर्दियाका जनप्रतिनिधि र संरक्षणकर्मीले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेर वन्यजन्तु संरक्षणको काम अघि बढाउनुपर्ने माग गरेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार पर्यटकीय नगरी ठाकुरद्वारामा भव्य आयोजित भव्य स्वर्ण जयन्ती समारोहका वक्ताले निकुञ्ज, मध्यवर्ती क्षेत्र र खाता जैविक मार्ग क्षेत्रमा बर्सेनि वन्यजन्तुुको आक्रमणबाट मानिसकोे ज्यान गइरहेको भन्दै यहाँका जनप्रतिनिधि र संरक्षणकर्मीले संकटग्रस्त क्षेत्र घोषणा गरेर वन्यजन्तु संरक्षणको काम अघि बढाउनुपर्ने माग गरेका हुन् ।

कार्यक्रममा बर्दिया क्षेत्र नंं. २ का प्रतिनिधिसभा सदस्य श्रीधर पोखरेलले वन र वन्यजन्तु संरक्षणमा एक तहको सफलता पाइसकेको दाबी गरे । ‘हामीले वन्यजन्तु संरक्षण राम्रो गरेका छौं । संख्या पनि बढेको छ तर गएको पाँच वर्षमा मात्र वन्यजन्तुको आक्रमणबाट निकुञ्ज र आसपासका क्षेत्रमा ६८ जनाले ज्यान गुमाएका छन्’, सांसद पोखरेलले भने, ‘संरक्षणलाई जनतालाई अनुभूति हुने गरी जनमुखी नीति, कार्यक्रम र विकासका काम गर्नुपर्ने बेला आइसकेको छ ।’
बर्दिया क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुले वन्यजन्तुको आक्रमणबाट मान्छेले ज्यान गुमाइरहेकाले संरक्षणका कार्यबाट मानवीय क्षति, मानव सभ्यता गुमाउन नहुनेमा जोड दिएका थिए ।
जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्टले बाघको संरक्षण गरेर मान्छे मराउने काम बन्द गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्र्षण गरेका थिए । ‘बाघ र चितुवाको आक्रमणबाट जोगिन निकै गाह्रो भएको छ । मान्छे मराउने काम मात्र भइरहेको छ । दुई तिहाइको यो सरकारलाई म कानुन संशोधन गरेर बाघसँगै मान्छेको पनि संरक्षण गर्ने व्यवस्था गर्न माग गर्दछु ।’
बर्र्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले पनि निकुञ्ज र वन क्षेत्रलाई संकटग्रस्त घोषणा गर्नुपर्नेमा जोड दिए । उनको भनाइ थियो, ‘निकुञ्ज स्थानीयका लागि वरदान हो तर उनीहरु अभिसाप ठानिरहेका छन् । हामीलाई अब निकुञ्ज र वन्यजन्तु चाहिँदैन भनिरहेका छन् ।कार्यक्रममा वन तथा वातावरण मन्त्री गीता चौधरीले मानव र प्रकृति सँगै बाँच्ने र सँगै हाँस्ने गरी सरकारले काम गर्ने आश्वासन दिएकी थिइन् । ‘निकुञ्ज काँडेतारले मात्र संरक्षण हुँदैन । स्थानीयको सहकार्य आवश्यक पर्छ । स्थानीय बिना वन र वन्यजन्तु संरक्षण सम्भव छैन । संरक्षण गर्ने मात्र होइन, स्थानीयले लाभ पनि पाउनु पर्छ’, उनले भनिन्, ‘वन्यजन्तुको सुरक्षा गर्न अब मानिसको सुरक्षा पनि हुन्छ । जिविकोपार्जनलाई पनि जोडेर लैजान्छौं । त्यसका लागि कानुन संशोधन गरेर काम अघि बढाउने छौं ।’
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले पनि मान्छेलाई प्राथमिकतामा राखेर वन र वन्यजन्तुको संरक्षण अभियान सञ्चालन गर्न माग गरेका थिए ।
राजापुर नगरपालिकाका प्रमुख दीपेश थारुले जिल्लालाई नै संकटग्रस्त क्षेत्र घोषणा गर्न वनमन्त्रीसँग माग गरे । ‘बर्दिया निकुञ्ज घोषणा गर्दा १०–२० वटा बाघ थिए । क्षेत्रफल त्यही हो । अहिले १२५ वटा छन् । यो निकुञ्जको बाघको भार क्षमता कति हो ? के निकुञ्जले अहिलेका बाघलाई थेगिरहेको छ ? किन स्थानीयले बाघ संरक्षण होइन, मार्नुपर्छ भनिरहेका छन् ?’, उनको जोड थियोे, ‘जनतामा बाघ संरक्षण गरे वापत आशा भन्दा त्रास छ । मानव वन्यजन्तुु द्वन्द्व न्यूनिकरणका लागि अब सोच्नुपर्ने बेला आएको छ ।’
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले पनि बाघको उचित व्यवस्थापन गर्न संघीय सरकारसँग माग गरे । ‘निकुञ्जको बाघ क्षमता कति हो ? वैज्ञानिक अध्ययन गरेर मात्र बाघको संख्या बृद्धि गर्नेतिर लागौं’, लम्सालको सुझाव थियो ।
बाँसगढी नगरपालिकाका नगर प्रमुुख खड्गबहादुर खड्काले पनि मानवलाई प्राथमिकतामा राखेर वन्यजन्तु संरक्षण अभियान अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.बुद्धिसागर पौडेलको अध्यतामा सम्पन्न कार्यक्रमम पर्यापर्यटन प्रबद्र्धन मञ्च बर्दियाका संयोजक कृष्ण भट्टराई, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति बर्दियाका अध्यक्ष हेमन्तप्रसाद आचार्य लगायतले निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि ठोस कदम चाल्न आग्रह गरे । स्वर्ण जयन्तीको अवसरमा निकुञ्जलाई साथ, सहयोग र सहकार्य गर्ने व्यक्ति, संस्था र साझेदार निकायलाई सम्मान गरिएको थियो ।

१७ वैशाख २०३२ सालमा कर्णाली वन्यजन्तु आरक्षका नाममा सुरु भइ बर्दिया वन्यजन्तु आरक्ष हुँदै २०४५ सालदेखि बर्दिया राष्ट्रिय निकुञ्ज घोषणा भएको थियो । तराईको सबैभन्दा ठूलो यो निकुञ्जको क्षेत्रफल ९६८ वर्ग किलोमिटर छ ।