बाँके र बर्दियाका पत्रकारलाई वन्यजन्तु संरक्षण अभ्यासबारे अभिमुखीकरण

ठाकुरद्वारा : बाँके र बर्दियाका पत्रकारलाई वन्यजन्तु संरक्षणका अभ्यासबारे अभिमुखीकरण गरिएको छ । तराई भू–परिधि तथा संरक्षण कार्यक्रमले बर्दियाको ठाकुरद्वारामा मंगलबार र बुधबार दुई दिने अभिमुखीकरण तथा स्थलगत अवलोकन गराएको हो ।

कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन डा.अशोककुमार रामले हात्ती संरक्षणमा देखिएका चुनौतीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले निकुञ्ज र वन क्षेत्र हुँदै निर्माण गरिने राजमार्ग, सिँचाइ आयोजना लगायतले हात्तीको आवागमनमा अवरोध भएको जानकारी दिनु भयो ।

तालिममा निकुञ्जका पूर्व वार्डेन रमेशकुमार थापाले बर्दियामा विगतमा बाघ संरक्षणका लागि भएका अभ्यासबारे जानकारी गराउनु भएको थियो । विगतमा बञ्जारा जातिले बाघ कसरी मार्थे र उनीहरुलाई कसरी पक्राउ गर्न सम्भव भएको हो भन्नेबारे रोचक कथाहरु सुनाउनु भएको थियो ।

तालिममा पत्रकार दीपेन्द्र बडुवालले संरक्षणमुखी पत्रकारिता, मिडियाको एजेण्डा र वन्यजन्तु सम्बन्धी समाचार लेखनबारे सहजीकरण गर्नुभएको थियो ।
तालिममा तालका कार्यक्रम प्रबन्धक भरतप्रसाद भट्ट र प्रतीक शाहले तालका परियोजना, कार्य गर्ने शैैली र संरक्षणका क्षेत्रमा पाएका सफलताबारे जानकारी गराउनु भएको थियोे । मंगलबार बर्दिया निकुञ्जमा सफारी गरिएको थियो । तालको सहयोगमा निकुञ्ज क्षेत्रमा निर्माण गरेका सौर्य उर्जाबाट चल्ने डिपबोरिङका कृत्रिम पानी पोखरीको अवलोकन गरिएको थियो ।

त्यसैगरी बुधबार डल्लागाउँ होमस्टेको अवलोकन गरिएको थियो । होमस्टेका संस्थापक अध्यक्ष मंगल थारुले डल्लागाउँ होमस्टेले गर्ने सेवा र संरक्षणको कामबारे जानकारी गराउनु भएको थियो । त्यस लगत्तै पथ्थरबोझी क्षेत्रमा हात्तीको आक्रमणमा भत्किएका घरमा गरिएको बिमा कार्यक्रमको प्रभावकारिताबारे पत्रकारलाई अवलोकन गराइएको थियो । ६९ जनाको संयुक्त परिवारका एक सदस्य महंगु चौधरीले हरेक वर्ष हात्तीले घर भत्काइरहेकाले सरकारलाई स्थानान्तरण गर्न आग्रह गर्नुभएको थियो । त्यसपछि जंगली जनावरबाट जिल्लामै ुुसबैभन्दा बढी मानवीय क्षति भएको खाता जैविक मार्ग क्षेत्रमा स्थलगत अवलोकन गरिएकोे थियो ।

खाता जैविक मार्ग समन्वय समितिका अध्यक्ष हरि गुरुङले समितिले गरेका संरक्षण सम्बन्धी गतिविधिबारे जानकारी गराउनु भएको थियो । उहाँले जैविक मार्गमा ताल, मधुवन नगरपालिका बाहेक सरकारी तवरबाट कुनै सहयोग नगरेको गुनासो गर्नु भएको थियो । लगत्तै पत्रकारलाई बाघलाई गाउँ पस्नबाट रोक्न कृत्रिम गन्ध विधि र क्यामरा जडान क्षेत्रको अवलोकन गराइएको थियो । कार्यक्रमपछि पत्रकारहरु कमल पन्थी, शंकरप्रसाद खनाल, सनत सापकोटा, रुद्र सुवेदी लगायतले तालले मिडियासँग गर्ने सहकार्यबारे सुझाव दिनु भएको थियो ।