कोहलपुर गोल्डकप : लालीगुराँस र नेपाल पुलिस विजयी

कोहलपुर : बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकपमा लालीगुराँस क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
प्रतियोगिताको चौथो दिन भएको तेस्रो खेलमा लालीगुराँस एसोसियसन क्लब पोखराले सातादोबाटो युथ क्लब काठमाडौँलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । लालीगुराँसलाई जिताउन जर्सी नम्बर १८ का रोशन छन्त्यालले गर्नुभयो । आफ्नो टिमलाई जिताउन खेलको ९४ औ मिनेटमा छन्त्यालले गरेको गोल नै निर्णायक बन्यो । निकै निकै प्रतिष्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित सकिएको थियो । दुवै टिमले गोलका लागि थुप्रै अवसर सिर्जना गरेपछि फिनिसिङमा चुक्दा गोलका लागि ९४औँ मिनेट कुर्नुुपर्‍यो । खेलमा म्यान अफ द म्याच पनि छन्त्याल नै घोषित हुनुभयो । उनलाई कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्मा, कोहलपुर गोल्डकपका सहसंयोजक दीपक वली र एन प्यानाङ एफसीका प्रबन्धक विनोद थापाले संयुक्त रुपमा नगद् पाँच हजार र ट्रफी वितरण गर्नु भएको थियो ।

प्रतियोगिताको चौथो खेल साविक विजेता राइसिङ स्टार क्लब सुनवल नवलपरासीलाई २–० गोल अन्तरले पराजित गर्दै विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसलाई जिताउन खेलको २६औँ र ९१ औँ मिनेटमा नेपाल पुलिस क्लबका जर्सी नम्बर ७० का आशिष थारुले गोल गरे । आफ्नो टिम जिताउन दुई वटा खेल गरेका थारु नै म्यान अफ द म्याच घोषित हुनुभयो । उहाँलाई श्रम संस्कृति पार्टी बाँकेका अध्यक्ष भरतनिधि तिवारी,नेपाली सेनाका सेनानी पुकार शाह र उद्घोषक तथा गायक कोष खड्काले संयुक्त रुपमा ट्रफी र नगद् पाँच हजार रुपैयाँ वितरण गर्नु भएको थियो । योसँग कोहलपुर गोल्डकपको समूह चरणको समीकरण पूरा भएको छ । समूह चरणमा जित हासिल गरेका कोहलपुर रेसिङ साहारा क्लब, जस्ट जोन एफसी नाइजेरिया, लालीगुुराँस एसोसियसन क्लब पोखरा र विभागीय टिम नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।