डा. दिल तामाङले ब्रिटिश स्कुलका विद्यार्थीलाई समाजसेवाबारे यसो भन्नुभयो…
नेपालगन्ज : एक दशकदेखि आमाको नाममा देशका कुनाकन्दरामा निःशुल्क स्वास्थ्य शिविरमार्फत सामाजिक सेवा गरिरहेका चिकित्सक कान्छीमाया तामाङ फाउन्डेसनका निर्देशक डा. दिलबहादुर थोकार तामाङले समाजसेवा नै मानवताको साँचो परिचय भएको बताउनु भएको छ ।
हुम्लामा स्वास्थ्य शिविर चलाएर फर्किने क्रममा बुधबार नेपालगन्ज उपमहानगरपालिका-१९ मा रहेको ब्रिटिश इग्लिश बोर्डिङ स्कुलका विद्यार्थीलाई एक दिने सचेतना कार्यक्रममा वक्ताको रुपमा सहभागी डा. तामाङले विद्यार्थीहरूलाई स्वास्थ्य शिक्षासँगै समाजसेवाको महत्वबारे प्रेरणादायी सन्देश दिनुभएको हो । उहाँले भन्नुभयो, “स्वास्थ्य नै जीवनको आधार हो । समाजसेवा नै मानवताको साँचो परिचय हो ।” उहाँले विद्यार्थीहरूलाई अनुशासित, स्वस्थ र समाजप्रति उत्तरदायी नागरिक बन्न आग्रह गर्नुभयो।
सो अवसरमा उहाँले विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली, व्यक्तिगत सरसफाइ, सन्तुलित आहार, नियमित व्यायाम तथा रोगबाट बच्ने उपायबारे महत्वपूर्ण जानकारी दिनुभएको थियो ।
उहाँले सन् २०१७ देखि आफ्नो स्वर्गीय आमाको सम्झनामा स्थापना गरिएको फाउन्डेशनमार्फत नेपाल ६५ भन्दा बढी जिल्ला र नेपालका अति दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, छात्रवृत्ति, स्वास्थ्य सचेतना अभियान तथा सामाजिक सेवाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।
विद्यालयका प्रधानाध्यापक हेमन्तराज काफलेले डा. तामाङको महत्वपूर्ण उपस्थितिका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै उहाँको प्रेरणादायी सन्देशले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा थपिएको दाबी गर्नुभयो । उहाँलाई पन्चकन्याले फूलको गुच्छाले र विद्यालयका अध्यक्ष नीरज शाहले खादा ओढाएर स्वागत गर्नु भएको थियो।









