सामुदायिक वनका पदाधिकारीलाई सु-शासन र नेतृत्व विकास तालिम
नेपालगन्ज : बाँकेमा सामुदायिक वनका पदाधिकारी र सदस्यहरुलाई सु-शासन र नेतृत्व विकास तालिम दिइएको छ ।
रेडियो कृष्णसार एफएम नेपालगन्ज बाँकेको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक सहयोगमा सामुदायिक वनका पदाधिकारीहरुलाई लक्षित गर्दै बिहीबार एक दिने क्षमता अभिवृद्धि तालिम दिइएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० स्थित पशुपतिनगर सामुदायिक वन उपभोक्ता समूह सम्झना चोकको हलमा आयोजित तालिमको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष कौशलकुमार धोबीले उद्घाटन गर्नुभएको थियो ।
तालिम सत्र अन्तर्गत नेपालगन्ज सब डिभिजन वन कार्यालयका प्रमुख पंकज झाले “सुशासन र वित्तीय विकास” विषयमा प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी रेडियो कृष्णसार एफएमका स्टेशन म्यानेजर सावित्री गिरीले “नेता र नेतृत्व” विषयमा प्रशिक्षण दिनुभएको थियो । डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले “सामुदायिक वनमा कसरी सुशासन कायम गर्न सकिन्छ” भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।
रेडियो कृष्णसार एफएमका स्टेशन म्यानेजर सावित्री गिरीको अध्यक्षतामा सम्पन्न तालिममा स्थानीय वन महासंघ डुडुवाका अध्यक्ष बेलबहादुर बोहोराले सामुदायिक वनका पदाधिकारीहरुको क्षमता अभिवृद्धि अत्यन्त आवश्यक रहेको बताउनु भएको थियो भने पशुपतिनगर सामुदायिक वन उपभोक्ता समूह नेपालगन्ज वडा नम्बर २० का अध्यक्ष फणिन्द्रबहादुर बुढाथोकीले तालिमले वन व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्र्नुभयो । तालिममा सामुदायिक वन उपभोक्ता समूह तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि गरी जम्मा ४२ जनाको सहभागिता रहेको थियो ।









