२३ जेठदेखि बाँकेमा जिल्ला स्तरीय फुटबल हुँदै

नेपालगन्ज : बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय (यु-१८) छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८३ जेठको २३ गतेदेखि हुने भएको छ । मेयर कप फुटबल प्रतियोगिता दुई दशकदेखि संघले आयोजना गर्दै आएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा बाँके जिल्ला फुटबल संघले नेपालगन्ज रंगशालामा एक सातासम्म आयोजना गर्ने यो प्रतियोगितामा जिल्लाका ८ वटा स्थानीय तहका विद्यालयहरुको सहभागिता रहनेछ ।
प्रतियोगिताले विद्यालय स्तरबाट नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्नमा महत्वपूर्ण सहयोग गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताउनु भयो । प्रतियोगितामा करिब ३० वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशी भने संघले छिटै सार्वजनिक गर्ने जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, विद्यागत रुपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्ड र उत्कृष्ट स्ट्राईकरलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
विद्यालय स्तरका प्रतियोगिताले हरेक वर्ष नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने भएकोले मेयर कपलाई प्राथमिकताका साथ हरेक वर्ष आयोजना गरिरहेको बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले जनाउनु भयो । बाँके जिल्लाको फुटबल स्तरलाई बढाउन समेत मेयर कप प्रतियोगिताले सहयोग महासचिव खत्रीले बताउनु भयो ।
२७ वटा विद्यालयको सहभागिता रहेको गत वर्षको बाँके जिल्ला स्तरीय मेयर कप फुटबलको पुरुष ब्राइटल्याण्ड र महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्स स्कुल च्याम्पियन बनेका थिए ।








