नेपालगन्जको धम्बोझी मावि कार्यसम्पादन मूल्याङ्कनमा देशभरबाट चौथो

समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • काभ्रेको मंगल जनविजय मावि मंगलटार ९०.०९ अंक ल्याएर पहिलो, तनहुँको जनकल्याण मावि बेलचौतारा ८७.७१ अंक ल्याएर दोस्रो, तनहुँकै सत्यदेवी मावि दमौली ८६.३२ अंक ल्याएर तेस्रो र धम्बोझी मावि नेपालगन्ज ८६.०१ अंक ल्याएर चौथो
  • देशभरका ६ हजार ३७० माविको कार्यसम्पादन मूल्याङ्कन
  • केन्द्रले २ उपक्षेत्र र ८८ वटा सूचकका आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्ने गरेको
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगन्ज : देशभरका सामुदायिक विद्यालयमध्ये बाँकेको धम्बोझी माध्यमिक विद्यालय नेपालगन्ज कार्यसम्पादन मूल्याङ्कनमा चौथो स्थानमा भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्र्गतको विभाग शैक्षिक गुणस्तर परीक्षण केन्द्रले आर्थिक वर्ष २०७७/०७८ मा गरेको मूल्याङ्कनमा ८६.०१ अंक ल्याएर चौथो भएको हो ।
केन्द्रले बिहीबार नेपालगन्जमा पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा विभागका सूचना अधिकारी प्रमिला बखतीले दिएको जानकारी अनुसार काभ्रेको मंगल जनविजय मावि मंगलटार ९०.०९ अंक ल्याएर पहिलो, तनहुँको जनकल्याण मावि बेलचौतारा ८७.७१ अंक ल्याएर दोस्रो र तनहुँकै सत्यदेवी मावि दमौली ८६.३२ अंक ल्याएर तेस्रो भएको हो । केन्द्रले देशभरका ६ हजार ३७० माविको कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।

बाँके राप्तीसोनारीको लक्ष्मी मावि मदुइ ७९.४४ अंक ल्याएर देशभरमा २९औं स्थानमा र खजुरा गाउँपालिकाको जनता नमुना मावि सन्तकुुटी ७६.३९ अंक ल्याएर ५७औं स्थानमा रहेको छ ।

बाँके जिल्लाका ८१ माविमा भने धम्बोझी मावि प्रथम भएको छ । जिल्लामा ११ वटा मावि मात्र मध्यम स्तरका मापन गरिएको थियो । ७० वटा मावि सामान्य पाइयो । यो मूल्याङ्कनमा बाँकेको राप्तीसोनारीका विद्यालय राम्रो देखिएका छन् । केन्द्रले गर्ने चार थरी स्तरमध्ये जिल्लामा सबैभन्दा बढी राप्तीसोनारीका ४ वटा माविको स्तर मध्यम पाइएको थियो । नेपालगन्ज र खजुराका दुई दुई विद्यालय र कोहलपुर नगरपालिका र बैजानाथ गाउँपालिकाका एक एक विद्यालय मात्र मध्यम स्तरमा रहेको पाइएको थियो । नरैनापुर र जानकी गाउँपालिकाका विद्यालयको स्तर भने सामान्य पाइयो । जिल्लाका कुनै पनि मावि कमजोर भने पाइएनन् ।
केन्द्रले विद्यालयमा लगानी (भौतिक संरचना, शिक्षण मानव संशाधन र स्थायित्व र समुदायको सहभागिता र लगानी), कक्षा शिक्षण, विद्यार्थी मूल्याङ्कन, शिक्षकको पेशागत विकास, नेतृत्व/व्यवस्थापन र अतिरिक्त क्रियाकलाप, उपलब्धीका रुपमा नियमितता र कक्षा दोहोर्‍याउने तथा छोड्ने दर, सिकाइ उपलब्धी, सेवाग्र्राही सन्तुष्टि र शिक्षकको पेशागत सन्तुष्टि लगायत १२ उपक्षेत्र र ८८ वटा सूचकका आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्ने गरेको केन्द्रका महानिर्देशक जयराम अधिकारीले जानकारी दिनुभयो । उहाँले चालु आवमा पनि १०० वटा विद्यालयको कार्यसम्पादन मूल्याङ्कन गरिरहेको बताउनु भयो ।

कार्यक्रममा केन्द्रले गर्ने कामहरु विद्यार्थी उपलब्धी राष्ट्रिय परीक्षण, विद्यालयको कार्यसम्पादन परीक्षण, अनुसन्धान र शिक्षा मन्त्रालयलाई दिइने नीतिगत सुझावका बारेमा पनि जानकारी गराइएको थियो ।