नारी विकास केन्द्रद्वारा ५२ जना गर्भवती महिलालाई अत्यावश्यक सामग्री सहयोग
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका–५ का विपन्न वर्गका गर्भवति महिलाहरुलाई अत्यावश्यक वस्तुहरु सहयोग गरिएको छ ।
नारी विकास केन्द्र बाँकेले केन्द्रले नेपालगन्ज–५ वडा कार्यालयको सहयोगमा वडाका ५२ जना विपन्न वर्गका गर्भवति महिलाहरुलाई अत्यावश्यक वस्तुहरुमा लगाउने लुगा, मन्जन ब्रस, जुस, कुखुराको अण्डा एक क्यारेट लगायत सामग्रीहरु सहयोग गरिएको हो ।
नारी विकास केन्द्रकी कार्यवाहक अध्यक्ष शीला शाहको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि वडा नं. ५ का अध्यक्ष शराफत अली शेख, विशिष्ठ अतिथि वडा प्रहरी कार्यालयका इञ्चार्ज शेखर खड्का लगायत अतिथिहरुबाट ती वस्तु हस्तान्तरण गरिएको हो ।
आधारभूत स्वास्थ्य चौकीमा गर्भवति अवस्थामा नियमित स्वास्थ्य परीक्षण गर्न, खोप लगाउन आउने विपन्न वर्गमा महिलाहरु मध्येबाट छनौट गरेर विपन्न वर्गमा गर्भवति महिलाहरुलाई मात्र यातायात खर्च सहित वितरण गरिएको केन्द्रकी कोषाध्यक्ष रचना श्रेष्ठले जानकारी दिनुभयो ।
सो अवसरमा वरिष्ठ समाजसेवी तथा केन्द्रकी सल्लाहकार सुश्री शान्ति श्रेष्ठ, केन्द्रकी उपाध्यक्ष तथा जागृति महिला सेलकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, वडा प्रहरी कार्यालयका इञ्चार्ज शेखर खड्का लगायतले आफ्नो मन्तव्यको क्रममा नारी विकास केन्द्रले गरेको क्रियाकलापहरुको प्रशंसा गर्नुु भएको थियो ।
सचिव मेनका वैद्य जोशीले सञ्चालन गरेको सो कार्यक्रममा महिला वडा सदस्य शान्ति पासवान, केन्द्रकी सदस्यहरु मीरा ढुङ्गाना, अमृता चौधरी लगायत करीब ७५ जनाको उपस्थिति थियो ।
नारी विकास केन्द्रकी कार्यवाहक अध्यक्ष शीला शाहले २०३२ सालमा स्थापना भएको गत वर्ष स्वर्ण महोत्सव मनाएको नारी विकास केन्द्रले गत वर्ष पनि ज्येष्ठ नागरिकहरुलाई लुगा र अन्य आवश्यक वस्तुहरु हस्तान्तराण गरेको जानकारी दिनु भयो । कार्यवाहक अध्यक्ष शाहका अनुसार नेपालगन्ज र कोहलपुरमा महिलाहरुका लागि विभिन्न किसिमका सीपमूलक तालिमहरु सञ्चालन भइरहेको छ ।
उल्लेखनीय छ, केन्द्रकी अध्यक्ष सहेत रहनु भएकी लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठको केन्द्रको विभिन्न क्रियाकलाहरुका लागि प्रदेश सरकार र स्त.थानीय निकायहरुसंग समन्वयका लागि सक्रिय सहयोग गर्दै आउनु भएको छ ।








