मन्त्री अहिरद्वारा नेपालगन्जका खेल संरचनाको अवलोकन
नेपालगन्ज : लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल अहिरले नेपालगन्जमा रहेका खेल संरचनाको अवलोकन गर्नुभएको छ ।
मन्त्री अहिरले आइतबार साबिक मध्यपश्चिमांचल क्षेत्रीय खेलकुद विकास समिति अन्तरगत रहेका नेपालगन्ज रंगशाला परिसरमा रहेका, रंगशाला, पौडी पोखरी, कवर्ड हल, सुटिङ रेन्ज लगायतका खेलकुदका संरचनाहरुको निरीक्षण तथा अनुगमन गर्नुभएको हो।
मन्त्री यादवले बाँकेको खेल क्षेत्रको विकास र संरक्षणका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले यसको लागि आफ्नो संसदीय कोषबाट मात्र नभई खेलकुद मन्त्रालय र प्रदेश सरकारसँग समेत कुरा गर्ने बताउनुभयो ।
सो क्रममा समितिका कार्यालय प्रमुख महेश चन्दले संरचनाहरुको संरक्षण, खेलकुदको अवस्था, समस्या र सम्भावनाका बारेमा जानकारी गराउनु भएको थियो। त्यसैगरी समितिका प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकी सोनुले खेलकुद क्षेत्र, स्थानीय पालिका तथा प्रदेश सरकार्बीच सही समन्वय हुन नसक्दा खेलकुदले गति लिन नसकेको जानकारी गराउनु भएको थियो ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्का पूर्वसदस्य नरेन्द्र थापाले खेलकुद क्षेत्रको विकासका लागि खेलाडी उत्पादन गर्न खेलाडी प्रतिभा खोज अभियान, प्रतियोगिताको निरन्तर आयोजना, खेल सामग्रीको ब्यवस्थापन गर्न प्रदेश सरकारसँग पहल गरि दिन मन्त्री यादवलाई आग्रह गर्नुभयो।








