खाली खुट्टामा स्कुल जाने विद्यार्थी संघले दिएको चप्पल पाएर खुसी !

समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघले बाँकेको नरैनापुर गाउँपालिका-४ नरैनापुरको अरबिया गुल्सने वारिस मदरसाका खाली खुट्टामा स्कुल जाने विद्यार्थीलाई ६५ हजार ५०० रुपैयाँ बराबरको २५० थान चप्पल सहयोग
  • संघका पूर्वअध्यक्ष तथा लक्ष्मी फुटवेयर नेपालगन्जका सञ्चालक कमलप्रसाद पौडेलमार्फत १५० जोर र संघका वर्तमान कोषाध्यक्ष तथा कृष्ण सु सेन्टर नेपालगन्जका सन्चालक डम्बर धामीमार्फत १०० गरी चप्पल हस्तान्तरण
  • खाली खुट्टामा स्कुल जाने विद्यार्थी चप्पल पाएर खुसी भए
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नरैनापुर : बाँकेको नरैनापुर गाउँपालिका–४ नरैनापुरको अरबिया गुल्सने वारिस मदरसाका खाली खुट्टामा स्कुल जाने विद्यार्थी चप्पल पाएर खुसी भएका छन् ।
नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघ बाँकेले बाँकेको बुधबार मदरसालाई २५० थान चप्पल सहयोग गरेको हो ।संघका अध्यक्ष कुलराज सन्ज्यालको नेतृत्व तथा नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका उपमहासचिव टेकबहादुर खड्काको प्रमुख आतिथ्यतामा गएको प्रतिनिधिमूलक टोलीले विद्यालयका प्रधानाध्यापक अब्दुल रहमानसहितको विद्यालय परिवारको उपस्थिथिमा विद्यार्थीलाई चप्पल लगाइदिएर उनीहको पीडामा मल्हम लगाउँदै खुुसी साँटेका हुन् ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद पोखरेल, उपाध्यक्ष ईश्वरी पौडेल, महासचिव रविन पौडेल, कोषाध्यक्ष डम्बर धामी, संघका संस्थापक अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, पूर्वअध्यक्ष कमलप्रसाद पौडेल, निवर्तमान अध्यक्ष कविराम जैसीलगायत कार्य समिति सदस्यहरुले चप्पल लगाइदिँदा विद्यार्थीको खुसीको सीमा नै थिएन । उनीहरुले गड्गडाहट ताली बजाएर सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

विद्यार्थीका लागि संघका पूर्वअध्यक्ष तथा लक्ष्मी फुटवेयर नेपालगन्जका सञ्चालक कमलप्रसाद पौडेलमार्फत १५० जोर र संघका वर्तमान कोषाध्यक्ष तथा कृष्ण सु सेन्टर नेपालगन्जका सन्चालक डम्बर धामीमार्फत १०० गरी ६५ हजार ५०० रुपैयाँ बराबरको चप्पल हस्तान्तरण गरिएको हो ।

३ असारको अन्नपूर्ण पोस्ट् दैनिकमा तातो तावा जस्तो सडक, खाली खुट्टामैै विद्यार्थी शीर्षकको समाचार र सोही दिन मेरोखुसी डटकमले अन्नपूर्ण पोस्ट्को समाचार साभार गर्दै खाली खुट्टामा स्कुल शीर्षकको समाचार प्रकाशित गरेको थियो ।

यो समाचार प्रकाशित भएको लगत्तै नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघ बाँकेका बरिष्ठ उपाध्यक्ष माधवप्रसाद पोखरेलले सहयोग संकलनका लागि अगुवाइ गर्नु भएको थियो । समाचार प्रकाशित भएको भोलिपल्ट संघको टोलीले विद्यालयको अवलोकन भ्रमण गरी विद्यालयका सबै विद्यार्थीका लागि तत्काल चप्पल सहयोग गर्ने प्रतिबद्धता जनाएर फर्केको थियो । विद्यालयका बाल विकास कक्षाका २५ विद्यार्थीका लागि काठमाडौंको विशाल ग्रुपले जुत्ता, झोला र स्टेशनरी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।