होसियार, कटन बडले कानेगुजी निकाल्दा कानको छाला सुुक्ला !

नेपालगन्ज : कानेगुजी निकाल्न के प्रयोग गर्नुहुन्छ ? कानेगुजी भरियो भन्दै यदि कान सफा गर्न बारम्बार इयर बड (कटन बड) प्रयोग गर्ने बानी भए होसियार हुनुस् । कानको भित्री छाला सुख्खा हुुनसक्छ ।
नेपाल पत्रकार महासंघ बाँकेले ओलस्का रामारोशन क्लिनिकको सहयोगमा शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकारहरूको नाक, कान तथा घाँटी (इएनटी) सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षणका क्रममा यस्तो समस्या देखिएको हो ।
पत्रकारको उपचारमा संलग्न नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. आनन्दकुमार झाले अधिकांश पत्रकाहरुमा कान सफा गर्ने नाममा बारम्बार इयर बड प्रयोग गर्ने बानीका कारण कानको भित्री छाला सुख्खा भएको बताउनु भयो । डा. झाले कानको स्वास्थ्य जोगाउन अनावश्यक रूपमा इयर बडको प्रयोग नगर्न समेत सुझाव दिनुभयो ।
सो अवसरमा पत्रकारको कानको श्रवण क्षमता (प्योर टोन अडियोमेट्री–पीटीए) परीक्षण समेत गरिएको ओलस्का रामारोशन क्लिनिकका सञ्चालक धनराज बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारहरूलाई व्यवसायिक जिम्मेवारीसँगै आफ्नै स्वास्थ्यप्रति पनि सचेत र जिम्मेवार बनाउन महासंघले समय–समयमा विभिन्न स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । यसै अभियान अन्तर्गत यस पटक नाक, कान तथा घाँटी रोग सम्बन्धी विशेष स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

महासंघ बाँकेका सचिव कृष्ण ओलीका अनुसार शिविरमा ४० जना पत्रकारहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. आनन्दकुमार झा, ओलस्का रामारोशन क्लिनिकका सञ्चालक धनराज बुढा तथा कमल बुढासहितको स्वास्थ्यकर्मी टोलीको सहभागिता रहेको थियो । शिविरका लागि आवश्यक औषधि नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ नेपालगन्ज इकाइ (एनएमएसआरए) ले उपलब्ध गराएको थियो ।