लायन वर्षको सुरुकै दिन लायन्सकर्मीद्वारा वृक्षारोपण

नेपालगन्ज : लायन्सका विभिन्न पदमा दुई महिना अघि निर्वाचित भए पनि आज १ जुलाइदेखि लायन वर्षको कार्यकाल सुरु भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालका गभर्नर टीकाराम चपाईले आफ्नो कार्यकालको पहिलो दिन लायन्स क्लब र लिडरहरुलाई दिएको सन्देशमा नयाँ नेतृत्वको कार्य प्रारम्भ एउटा लायन्स एउटा फलको बिरुवा अभियान, वृक्षारोपण तथा हरित अभियानका कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नु भएको छ ।

डिष्ट्रिकको एरिया नं. ४ का एरिया चिफ विन्दु चर्ति मगरका अनुसार बुधबार बिहानदेखि साँझ अबेरसम्म एरिया अन्तर्गतका क्लबहरुले वृक्षारोपण गरेका थिए । लायन्स क्लब अफ नेपालगन्ज युनिटीले बिहानै औद्योगिक क्षेत्रको बाहिरतिर वृक्षारोपण गरेको थियो ।

लायन्स क्लब अफ नेपालगन्ज भेरीले भने नेपालगन्जको वडा नंं. ४ मा रहेको किरिया पुत्री भवन परिसरमा वृक्षारोपण गरेको थियो । लायन्स क्लब अफ नेपालगन्ज जीवनले पनि वृक्षारोपण गरेको थियो ।

अपरान्ह राँझा विमानस्थल नजिकै रहेको पशुपति मन्दिर परिसरमा लायन्स क्लब अफ नेपालगन्ज बागेश्वरी, सिटी र वाटरपार्कले संयुक्त रुपमा वृक्षारोपण गरेको जोन चेयर पर्सन उषा थापा भन्डारीले जानकारी दिनुभयो ।

लायन्स क्लब अफ कोहलपुरले पनि शिव पार्वती मन्दिर परिसरमा वृक्षारोपण गरेको रिजन चेयर पर्सन समर बस्नेतले बताउनु भयो । लायन्स क्लबहरुले जुलाइ महिनाभरी नै वृक्षारोपण कार्यक्रम आयोजना गर्ने जनाएका छन् ।