गुलरियामा न्यायीक समिति र सञ्चारकर्मीबीच अन्तरक्रिया
संजय आचार्य । गुलरिया
बर्दियाको गुलरिया नगरपालिकाको न्यायीक समितिले सञ्चारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिबीच अन्तरक्रिया गरेको छ।

नगरपालिकाकी न्यायीक समिति संयोजक तथा उपप्रमुख सावित्रा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानुन शाखा प्रमुख कपिल घिमिरेले आर्थिक वर्ष २०८२/८३ को न्यायीक समितिको कार्यसम्पादन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा गुलरिया नगरपालिकामा हरेक शुक्रबार न्यायीक समितिको इजलास सञ्चालन हुने जानकारी दिँदै स्थानीय तहमा उत्पन्न हुने विवादलाई मेलमिलापमार्फत समाधान गर्दै नागरिकलाई सहज, छिटो र प्रभावकारी न्यायिक सेवा प्रदान गर्न समिति निरन्तर सक्रिय रहेको बताइएको थियो।अन्तरक्रियाका क्रममा सञ्चारकर्मी तथा संघ–संस्थाका प्रतिनिधिहरूले न्यायीक समितिले दुबै पक्षको चित्त बुझ्ने गरी निष्पक्ष मेलमिलाप गराउनुपर्ने, कुनै दबाब वा बहानामा मेलमिलाप नगराउनुपर्ने सुझाव दिएका थिए। साथै न्यायिक समितिको कामलाई अझ पारदर्शी, जनमैत्री र प्रभावकारी बनाउन जनचेतना अभिवृद्धि, सञ्चारमाध्यमसँग समन्वय तथा नियमित सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा उठेका जिज्ञासा र सुझावको जवाफ दिँदै उपप्रमुख गौतमले संविधानले दिएको अधिकार र जिम्मेवारीअनुसार न्याय प्रशासनलाई छिटो, सरल, सुलभ, सस्तो, प्रभावकारी र जवाफदेही बनाउने दिशामा न्यायिक समिति प्रतिबद्ध रहेको बताउनुभयो।
प्रतिवेदनअनुसार समितिले आर्थिक वर्ष २०८२/८३ मा स्थानीय स्तरमै न्यायीक सेवा उपलब्ध गराउँदै मेलमिलापमार्फत विभिन्न विवाद समाधान गरेको, महिला तथा पछाडि परेका समुदायको न्यायमा पहुँच बढाएको तथा कानुनी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
यद्यपि जटिल प्रकृतिका मुद्दा समाधान, फैसला कार्यान्वयन र कानुनी जनचेतनाको कमी प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गरिएको छ। आगामी दिनमा कानुनी सचेतना अभियान विस्तार गर्ने, महिला तथा बालबालिकाको हितमा विशेष कार्यक्रम सञ्चालन गर्ने र डिजिटल रेकर्ड प्रणाली लागू गर्ने योजना समितिले सार्वजनिक गरेको छ।








