जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाइमा ७ बुदे प्रतिबद्धता
नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकाले ७ बुदे प्रतिबद्धता ब्यक्त गर्दै सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ ।
गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा बुधबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रविधिमैत्री स्थानीय तहको अवधारणलाई सहयोग पुग्ने गरी गाउँपालिका र मातहतका वडाको हाजिरी, दर्ता चलानी लगायत सेवालाइ आगामी आर्थिक वर्षबाट अनलाइनमार्फत सञ्चालनमा ल्याउने, वडा नं. ६ को मस्जिदमा सञ्चालित योजना लगायत केही योजनाको काम सम्पन्न हुँदा समेत भुक्तानी नभएको गुनासो आएकाले सम्पन्न फाइलको भुक्तानी यथासक्य आगामी आवमा भुक्तानी गर्ने ब्यवस्था मिलाउने, गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि कमजोर देखिएका सूचकहरुलाइ ध्यानमा राखी काम गर्ने र नियमित अनुगमन गर्ने, गाउँपालिकाभित्र रहेको खानेपानी समस्या सम्बन्धि गुनासोको खानेपानी, सरसफाइ कार्यविधि अनुरुप प्राथामिकिकरणको आधारमा समाधान गर्दै लैजाने, सिँचाइ समस्या समाधानका लागि आगामी भदौ महिनाभित्र डेण्डर आवहान गर्ने, पूर्वाधार विकास अन्तर्गत गरुवा गाउँदेखि बनिया गाउँसम्मको सडकको गुणस्तर सुधारमा ध्यान दिने तथा आगामी आवमा थप बजेट बिनियोजनका लागि पहल गर्ने, पालिकाभित्र सरसफाइ अभियानलाइ थप प्रभावकारी बनाउने, कार्यालयको सेवा प्रवाहमा सेवाग्राही मैत्री ब्यवहार र वातावरण सिर्जना गर्ने रहेका छन् ।
नागरिकहरुले उठाएका सवालहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष छब्बन खाँ र गाउँपालिकाका प्रमुख प्रशासकीय परशुराम उपाध्यायले विकास हुन बाँकी विषयलाइ आगामी वर्ष प्राथामिक्तामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
बास नेपालका कार्यक्रम अधिकृत रविन्द्र बोहराले सहजिकरण गरेको सुनुवाईको सुरुवातमा गाउँपालिकाले चालु आवमा गरेको कार्यक्रम तथा उपलब्धिहरुको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाधयले प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले स्वागतसँगै नागरिक प्रतिवेदन पत्र र बर्हिगमन अभिमत पत्र सर्वेक्षणको नतिजा सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा २०० जना स्थानीयको सहभागिता रहेको थियो ।









