विश्व आदिवासी दिवस बर्दियामा भव्य मनाइयो

संजय आचार्य । गुलरिया

बर्दियाको गुलरियामा ३२औँ विश्व आदिवासी दिवस बर्दियाको गुलरियामा भव्य रूपमा मनाइएको छ। नेपाल आदिवासी जनजाति महासङ्घ, जिल्ला समन्वय परिषद् बर्दियाको आयोजनामा आइतबार विशेष समारोहमा तथा र्‍यालीसहित दिवस मनाइएको हो।
कार्यक्रमअघि विभिन्न आदिवासी जनजाति समुदायका प्रतिनिधिहरू परम्परागत पोशाक, सांस्कृतिक झाँकी तथा बाजागाजासहित प्रभातफेरीमा सहभागी भएका थिए। र्‍यालीमा विभिन्न जातीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बर्दियाका अध्यक्ष इन्द्रकुमार श्रेष्ठले आदिवासी जनजातिको हक, अधिकार सुनिश्चितता र संस्थागत विकासका लागि एकीकृत पहल आवश्यक रहेको बताउनुभयो।
अध्यक्ष श्रेष्ठले महासङ्घको आफ्नै भवन निर्माणका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताउँदै घडेरी व्यवस्थापन र भवन निर्माणका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
अध्यक्ष श्रेष्ठले आदिवासी जनजातिका लागि सरकारले उपलब्ध गराउने बजेट तथा अधिकार संविधान तथा कानुनले सुनिश्चित गरेको नैसर्गिक अधिकार भएको स्पष्ट पार्नुभयो। स्थानीय तहबाट विगतमा भएका बेवास्ताका घटनाप्रति सचेत हुनुपर्ने बताउँदै उहाँले आदिवासी जनजातिको अधिकारका सवालमा राजनीतिक दलभन्दा माथि उठेर सक्षम र सही नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो।
समारोहमा सहभागी वक्ताहरूले संविधानले सुनिश्चित गरेका आदिवासी जनजातिका अधिकारहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । उनीहरूले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा, ज्ञान र पहिचानको संरक्षण गर्दै पहिचानसहितको समावेशी तथा न्यायपूर्ण समाज निर्माणका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।