समयमै कर छुट सुविधा लिन कोलेनिकाको आग्रह
संजय आचार्य । गुलरिया
नेपाल सरकारले आर्थिक विधेयक २०८३ मार्फत प्रदान गरेको कर छुटको सुविधा समयमै उपयोग गर्न करदाताहरूलाई कोष तथा लेखा नियन्त्रक कार्यालय बर्दियाले आग्रह गरेको छ।
जिल्लामा करदाता सेवा कार्यालय खारेज भएपछि २०८२ पुस २३ गतेदेखि सो कार्यालयबाट प्रवाह हुने सेवा कोष तथा लेखा नियन्त्रक कार्यालय बर्दियाबाटै उपलब्ध गराउँदै आएको छ ।
कार्यालयका लेखापाल संजीव रेग्मीका अनुसार आयकर ऐन २०५८ बमोजिम स्थायी लेखा नम्बर अर्थात् प्यान लिएर आयआर्जन गरेको तर कर तथा विवरण बुझाउन बाँकी रहेका करदाताले आगामी २०८३ पुस मसान्तभित्र कर र सोको १ प्रतिशत रकमसहित विवरण बुझाएमा लाग्ने शुल्क र ब्याज मिनाहा हुनेछ।
कर छुट तथा अन्य सुविधाबारे थप जानकारीका लागि आन्तरिक राजस्व कार्यालय नेपालगन्ज वा कोष तथा लेखा नियन्त्रक कार्यालय बर्दियामा सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ।








