बर्दिया जिल्ला हुलाकबाट साढे पाँच हजार लाभान्वित

संजय आचार्य । गुलरिया
जिल्ला हुलाक कार्यालय बर्दियाबाट एक वर्षमा साढे ५ हजार सेवाग्राहीले सेवा लिएका छन्।
कार्यालयका निमित्त हुलाक अधिकृत जीवन ज्ञवालीका अनुसार आर्थिक वर्ष २०८२र८३ मा ५ हजार ५ सय ८३ जनाले विभिन्न हुलाक सेवा लिएका हुन् । यस अवधिमा कार्यालयले २० लाख २१ हजार ४ सय ७८ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि हो। २०८१र०८२ मा १८ लाख ७७ हजार ६ सय ८ रुपैया राजस्व संकलन भएको थियो ।
कार्यालयले सेवाग्राहीलाई सकेसम्म तुरुन्तै, बढीमा १५ मिनेटभित्र सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। प्रमुख ज्ञवालीका अनुसार साधारण चिठीभन्दा सरकारी कागजात, राहदानी, मुद्दाका मिसिल, पार्सल तथा वैदेशिक चिठीपत्रको चाप बढी रहने गरेको छ।
कार्यालयले रजिष्टर्ड नम्बर प्रयोग गरी जीपीओको वेबसाइटमार्फत चिठीपत्र र पार्सलको अवस्था अनलाइनबाटै ट्र्याकिङ गर्न सकिने व्यवस्था गरेको छ। साथै चिठीपत्र दर्ता, पार्सल तथा पुलिन्दा सेवा, राहदानी घरदैलोमा पुर्‍याउने, पत्रपत्रिका दर्ता, नवीकरण तथा अनुगमनलगायतका सेवा नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।
बैंक तथा वित्तीय संस्थाबाट आउने केही चिठीमा ठेगाना अपूरो हुने वा सम्बन्धित व्यक्तिले बुझ्न नमानेका कारण समस्या देखिने गरेको निमित्त हुलाक अधिकृत ज्ञवालीले बताउनुभयो। यस्ता समस्या समाधानका लागि सम्बन्धित संस्थासँग समन्वय र अन्तरक्रिया भइरहेको वहाको भनाइ छ।
कार्यालयमा तल्लो तहका चारदेखि पाँच जना कर्मचारीको अभाव रहे पनि सेवा प्रवाहमा कुनै असर नपर्ने गरी काम भइरहेको कार्यालयले जनाएको छ।