बर्दिया अस्पतालमा हाइड्रोसिलका ३८ बिरामीको निःशुल्क शल्यक्रिया हुने
संजय आचार्य । गुलरिया
बर्दिया अस्पतालमा यस वर्ष पनि हाइड्रोसिलका बिरामीले निःशुल्क शल्यक्रिया तथा उपचार सेवा पाउने भएका छन् । यो सेवा बिहीबारदेखि शुभारम्भ भएको छ ।
अस्पतालका मेडिकल रेकर्डर तथा सूचना अधिकारी केशव न्यौपानेका अनुसार चालु आर्थिक वर्ष २०८३-०८४ का लागि अस्पतालले ३८ जनाको निःशुल्क उपचारका लागि बजेट तथा कोटा प्राप्त गरेको हो। यस अघि आव २०८१-०८२ मा ४६ जना र २०८२-०८३ मा ४७ जनाको निःशुल्क उपचार गरिएको थियो।
अस्पतालका कन्सल्टेन्ट जनरल सर्जन डा. विजय उपाध्यायले हाइड्रोसिलको समस्या भएका बिरामीलाई समयमै चिकित्सकसँग परामर्श लिन आग्रह गर्नु भएको छ। अण्डकोष सुन्निने समस्या देखिएमा घरमै उपचार गर्ने वा लुकाएर बस्नेभन्दा स्वास्थ्य संस्थामा जाँच गराउनु उपयुक्त हुन्छ। ढिला गर्दा समस्या जटिल बन्न सक्ने र ६, ७ वा ८ वर्षसम्म समस्या बोकेर आउने बिरामीसमेत भेटिने गरेको उहाँले बताउनुभयो।
लामो समयसम्म समस्या रहँदा शल्यक्रियामा ठूलो चिरा लगाउनुपर्ने र घाउ पाक्ने लगायतका जटिलता देखिन सक्ने डा. उपाध्यायको भनाइ छ। समयमै उपचार गर्दा समस्या कम हुने र रोग छिटो निको हुने उहाँले स्पष्ट पार्नुभयो। हाइड्रोसिलका बिरामीले बर्दिया अस्पतालको कोठा नम्बर १२ मा सम्पर्क गरी सेवा लिन सक्ने जनाइएको छ । स्वास्थ्य परीक्षणपछि योग्य बिरामीलाई भर्ना, शल्यक्रिया र सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराइने अस्पताल प्रशासनले जनाएको छ ।








