भूमि प्रशासन कार्यालयमा बिचौलियालाई प्रवेश निषेध !
संजय आचार्य । गुलरिया
भूमि प्रशासन कार्यालय गुलरिया बर्दियाले अनधिकृत व्यक्ति तथा बिचौलियाको प्रवेश पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ। सुशासन, पारदर्शिता र जनमुखी सेवा प्रवाह सुनिश्चित गर्न लेखापढी व्यवसायी र कर्मचारीबीच संयुक्त बैठकपछि यो कदम चालिएको हो।
कार्यालय प्रमुख बालकृष्ण राना मगरले अदालतको अनुमति, ड्रेस कोड र परिचयपत्र भएका आधिकारिक लेखापढी व्यवसायीलाई मात्र कार्यालय परिसरमा प्रवेश दिइने बताउदै बिचौलिया वा अन्य अनधिकृत व्यक्तिलाई कुनै पनि बहानामा कार्यालयमित्र प्रवेश नदिइने बताउनु भयो । सेवाग्राहीलाई सकेसम्म आफ्नै काम आफैं गर्न आग्रह गर्दै समस्या वा ढिलासुस्ती भएमा सीधै कार्यालय प्रमुखसँग गुनासो गर्न सकिने व्यवस्था मिलाइएको समेत मगरले जानकारी दिनुभयो।
कार्यालय प्रमुख र लेखापढी व्यवसायीहरूको यो संयुक्त प्रयासले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई पारदर्शी र सहज सेवा उपलब्ध गराउन मद्दत मिलने प्रमुख रानामगरले बताउनु भयो ।
लेखापढी व्यवसायी जिल्ला कार्यसमिति गुलरियाका सचिव कृष्ण थापा क्षेत्रीले यस बैठकले सकारात्मक सन्देश दिएको बताउनुभयो। “न्याय परिषद् र राज्यको नीतिअनुसार ड्रेस र परिचयपत्र अनिवार्य लगाएर मात्र सेवा सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ,” उहाँले भन्नुभयो। बर्दिया जिल्ला अदालतमा यो व्यवस्था पहिलेदेखि नै लागू भएकाले पालनामा कुनै समस्या नरहेको क्षेत्रीको भनाइ छ।
अनधिकृत व्यक्तिलाई प्रश्रय नदिन कर्मचारीलाई समेत सचेत गराइएको र हस्ताक्षर गराइएको जानकारी दिँदै क्षेत्रीले आधिकारिक लाइसेन्स नभएका सहयोगीलाई कार्यालयभित्र नपठाउन सदस्यहरूलाई आग्रह गर्नुभयो। व्यवसायका लागि सहयोगी राख्नु अधिकार हो तर राज्यको नीतिअनुसार लाइसेन्स, ड्रेस र परिचयपत्र भएकालाई मात्र सेवा लिन पढाउने बहाले बताउनु भयो ।
पछिल्लो अवस्थामा भूमि प्रशासन कार्यालयमा हुने अनियमितता र बिचौलियाको प्रभाव कम गर्न र सेवाग्राहीको सहजतालाई प्राथमिकता दिँदै आधिकारिक माध्यमबाट मात्र सेवा प्रवाह गर्न सके अझै राम्रो हुने सेवाग्राहीले बताएका छन् ।








