गुलरियामा निर्मित शिवशंकर मन्दिरको मेयरद्वारा उद्घाटन, दाताहरुलाई सम्मान
संजय आचार्य । गुलरिया
बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ टपरामा शिवशंकर मन्दिर निर्माण गरिएको छ । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले शुक्रबार मन्दिरको उद्घाटन गर्नुभयो । सो अवसरमा मन्दिरका जग्गादाता तथा मन्दिर निर्माणमा आर्थिक सहयोग गर्ने दानीहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले शिवशंकर मन्दिर निर्माण तथा व्यवस्थापनमा सम्पूर्ण स्थानीयवासी, चन्दादाता र जनप्रतिनिधि हरूको योगदान अतुलनीय रहेको बताउनुभयो। वहाले विगतका अनुभव स्मरण गर्दै बर्दिया र गुलरियाको विकासमा विभिन्न व्यक्तित्वहरूको भूमिकाको चर्चा गर्नुभयो। विशेष गरी सिग्देल परिवार तथा गोपाल सिग्देलको सहयोगले मन्दिर विस्तारमा ठूलो सहयोग पुगेको उल्लेख गर्दै उहाँले आभार व्यक्त गर्नुभयो।
सृष्टि आमा समूहका तर्फबाट भजन मण्डलीका लागि मादल, ढोलक, हर्मोनियम लगायत सामग्री तथा राख्ने बाकस र दराजको माग भएपछि मेयर यादवले तत्काल व्यवस्थापन गर्ने घोषणा गर्नुभयो। “तपाईंहरू आजै गएर सामग्री किनेर ल्याउनुहोस् र नगरपालिकामा बिल बुझाउनुहोस्, नगरपालिका त्यसको भुक्तानी गर्न तयार छ,” वहाले भन्नुभयो। साथै मन्दिर परिसरको काँचो ठाउँमा आरसीसी वा ब्लक बिछ्याउन एक हप्ताभित्र समिति बनाएर प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै आवश्यक बजेट नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। आफ्नो कार्यकालको अन्तिम चरणमा रहेको उल्लेख गर्दै मेयरले मन्दिरभित्रका बाँकी सबै काम आफ्नै पालामा पूरा गर्ने इच्छा समेत व्यक्त गर्नुभयो।
मन्दिर समितिले सृष्टि आमा समूहद्वारा निर्मित गणेश मन्दिरको प्राण प्रतिष्ठासम्मको सम्पूर्ण कार्य आफ्नै लगानी र पहलमा सम्पन्न गरेकोमा महिला समूहलाई विशेष धन्यवाद दिएको छ। मेयर यादवले महिलाहरूको यो कार्य प्रशंसनीय रहेको र उनीहरूको नाम युगौँयुगसम्म रहने बताउनुभयो।
जग्गादाता टपरा निवासी लक्षीराम चमारले मन्दिरका लागि आठ धुर जग्गा दान गर्नुभएको छ। आर्थिक सहयोगतर्फ नेपाल सरकार, भौतिक पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलबाट नर्मदोश्वर शिवलिङ्ग, आसन र नन्दी स्थापनाका लागि सहयोग प्राप्त भएको छ भने राजापुर नगरपालिका वडा नं. १० खैरी निवासी माधव सिग्देलले ८५ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभएको छ। यी योगदानले मन्दिरको धार्मिक तथा पर्यटकीय विकासमा ठूलो सहयोग पुग्ने समितिले विश्वास व्यक्त गरेको छ।
समितिका अध्यक्ष होतराज सिग्देलले कुनै एक व्यक्तिको मात्र नाम नलिएर हरेक तह र क्षेत्रबाट प्राप्त सहयोगले नै मन्दिरको भौतिक तथा आर्थिक विकास सम्भव भएको स्पष्ट पार्नुभयो। “यहाँ कसैको योगदान कम छैन, सबैले आफ्नो ठाउँबाट खट्पूर्ण योगदान पुर्याउनुभएको छ,” वहाले भन्नुभयो। नगर प्रमुख यादवले सहयोगका लागि पहल गरेकोमा अध्यक्ष सिग्देलले आभार व्यक्त गर्नुभयो। व्यवस्थापन समिति, चन्दादाता र स्थानीय नगरवासीको सामूहिक प्रयासले मन्दिर निर्माण सम्पन्न भएको उल्लेख गर्दै आगामी दिनमा दैनिक पूजाआजा र रेखदेखमा निरन्तर सहयोगको अपेक्षा समेत गरिएको बताउनु भयो ।








