संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले प्रतिबद्धता सांर्वजनिक गरेको छ ।
संयुक्त प्यानलले बिहीबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष टंकबहादुर धामी, संघका पूर्वअध्यक्ष तथा महासंघका पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, संघका पूर्वअध्यक्ष नन्दलाल वैश्य, संयुक्त प्यानल निर्वाचन समितिका संयोजक ललितकुमार रौनियार, संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार चिरञ्जीवी ओली, संघका महासचिव भीमबहादुर रानाभाट, पूर्वमहासचिव विष्णु लामिछाने र संघका पूर्व सदस्य भास्कर काफ्लेलगायतले २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा निर्र्वाचन परिचालन समितिका संयोजक ललितकुमार रौनियारले प्रतिबद्धता पत्रमा उल्लेख गरिएका विषयवस्तुहरु प्रस्तुत गर्नु भएको थियो । ‘व्यवसायिक एकता, सहकार्य र पारदर्शिता ः बाँकेको आर्थिक समृद्धि नै हाम्रो प्रतिबद्धता’ मूल नारा रहेको प्रतिबद्धता पत्रमा बाँकेको आर्थिक समृद्धिका लागि २३ बुँदा समेटिएको छ । संघ सबलिकरण र सुदृढिकरण, नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि दवाब, नेपालगन्जमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि पहल, लगानी सम्मेलन, सुख्खा बन्दरगाहको माग, स्टार्ट अप मार्फत उद्यमशीलता प्रबद्र्धन र अवैध आयात निर्यातमा निरन्तर खबरदारी रहेको छ ।
त्यसैगरी कृषि उपज प्रबद्र्धन, जडिबुटी व्यवसाय प्रबद्र्धन, निःशुल्क स्वास्थ्य शिविर, बजार व्यवस्थापन, पर्यटन प्रबद्र्धन, महोत्सव, मेला, उद्यमशीलता र औद्योगिक प्रदर्शनी र बैंक तथा वित्तीय संघसंस्थासँग सहजीकरण गर्ने रहेको छ ।
त्यस्तै, सामूहिक बिमा कार्यक्रमको निरन्तरता, सामाजिक सेवा, व्यवसायी मैत्री नीति र कानुनमा जोड, तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन, व्यवसायीले विश्राम गर्न महिनामा १ दिन बजार बन्द, व्यवसायिक सहायता कक्ष तथा परामर्श केन्द्र र कार्यालय व्यवस्थापन लगायतका रहेका छन् ।
निर्वाचन परिचालन समितिका संयोजक ललितकुमार रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यका साथै पूर्वमहासचिव विष्णु लामिछानेले संयुक्त प्यानलका उम्मेदवारलाई मतदान गर्र्न अपिल गर्नु भएको थियो ।
कार्यक्रममा सयुक्त प्यानलबाट नेपालगन्ज उद्योग वाणिज्य संंघको अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी ओलीले पत्रकारले राखेको जिज्ञासाको जवाफ दिनुभएको थियो । ओलीले विशुद्ध उद्योगी व्यवसायीको साझा टिम बनेकाले ३ वर्षे कार्यकालमा राजनीति भन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले संघलार्ई सबै उद्योगी व्यवसायीको साझा संस्थाको रुपमा काम गर्ने बताउनु भयो ।
संयुक्त प्यानलबाट अध्यक्षमा ओली, महासचिवमा विष्णु श्रेष्ठ, उप–महासचिवमा शिवप्रसाद दाहाल र कोषाध्यक्षमा टीकामणि उपाध्याय उम्मेदवारी दिनु भएको छ । त्यसैगरी सदस्यहरुमा तोपबहादुर थापा, सन्तोषकुमार पौडेल, नन्दाराम जैसी, चाँदबाबु अन्सारी, जहाँगीर मुुसलमान, आदित्य गुप्ता, अतुलकुमार गुप्ता, शरदराज अधिकारी, ई.नगेन्द्र शाही र शरदप्रसाद रिजाल सदस्य पदको उम्मेदवारी दिनु भएको छ । संघको निर्वाचित हुने २१ सदस्यीय कार्य समितिमा संयुक्त प्यानलबाट उपाध्यक्षद्वय उद्योगतर्फ कमलकुमार कार्की र वाणिज्यतर्फ विष्णुप्रसाद श्रेष्ठ, एसोसियट सदस्य राजीव तलंगा र अब्दुल वाहिद अन्सारी, सम्बद्ध सदस्य फणाधर भण्डारी र सुरेशजंग बञ्जारा निर्वाचित भइसक्नु भएको छ । संघको आगामी ६ भदौमा निर्वाचन हुँदैछ ।









