माइती नेपाल बर्दियाद्वारा एकै वर्षमा २९६ जनाको उद्दार !

संजय आचार्य । गुलरिया
माइती नेपाल बर्दियाले एक वर्षको अवधिमा झन्डै तीन सय जनालाई सीमा नाकाबाट उद्दार गरेको छ ।
माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले जिल्लाको सामाजिक परीक्षणका क्रममा सोमबार गुलरियामा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२-८३ मा जोखिमपूर्ण यात्रामा रहेका २९६ जनालाई बर्दियाको सीमा नाकाबाट उद्दार गरेको हो। जसमा ​१८ वर्ष मुनिका बालिका २१७ जना,​ १८ वर्ष मुनिका बालक ५ जना र १८ वर्ष माथिका महिला ७४ जना रहेका छन । नेपाल भारत सीमा क्षेत्रका विभिन्न नाकाहरूमा सूचना तथा परामर्श केन्द्र स्थापना गरी निगरानी बढाइएको छ। साथै भारतको दिल्ली पुर्‍याइएका २ जना नेपालीको सकुशल उद्दार गरी स्वदेश फर्काइएको छ ।उद्धार गरिएका पीडितहरूलाई माइती नेपालको संरक्षण गृहमा राखी कानुनी सहयोग, स्वास्थ्य उपचार तथा परामर्श प्रदान गरी पारिवारिक पुनर्मिलन गराउने गरिएको छ। यसबाहेक, सचेतना तथा सामाजिक जागरण, रोकथाम तालिम, आवधिक गृह तथा सीमा निगरानी, र सुरक्षित आप्रवासन परामर्श जस्ता कार्यक्रमहरू पनि निरन्तर सञ्चालन भइरहेका छन्।

हाल बर्दियाको गुलरियास्थित सुरजपुर, बढैयातालको फुटाहा र मधुवनको शक्तिपुर नाकामा परामर्श केन्द्रहरू सञ्चालनमा रहेका छन्। यी नाकाहरूबाट भारततर्फ जाने महिला तथा बालबालिकाहरूलाई सोधपुछ तथा आवश्यक परामर्श दिने गरिएको छ।
सोमबार माइती नेपाल बर्दियाले आर्थिक वर्ष २०८२र८३ मा हासिल गरेका मुख्य उपलब्धि सार्वजनिक गर्दै सामाजिक परीक्षण कार्यक्रममा संस्थाले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अभियानमा वर्षभरि गरेका रोकथाम, उद्दार, परामर्श तथा पुनर्स्थापना सम्बन्धी प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।