बर्दियाका ७ पालिकामा ‘सुरक्षित भविष्य परियोजना’ सुरु

संजय आचार्यगुलरिया
बर्दिया जिल्लाका सातवटा पालिकामा बालबालिका तथा किशोरकिशोरीको संरक्षण, शिक्षा, नेतृत्व विकास र सर्वांगीण विकासलाई लक्षित गर्दै ‘सुरक्षित भविष्य परियोजना’ सञ्चालनमा आएको छ।
परियोजना गुलरिया, मधुवन, ठाकुरबाबा, राजापुर र बारबर्दिया नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकामा सञ्चालन हुनेछ। परियोजनाअन्तर्गत आधारभूत तथा माध्यमिक तहका गरी ३६ वटा विद्यालय र ती विद्यालयको सेवा क्षेत्रलाई समेटिएको छ।
प्लान इन्टरनेसनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको संयुक्त साझेदारीमा सञ्चालन हुने भएको छ । सन् २०२६ जुलाईदेखि सुरु भएको परियोजना सन् २०२८ जुनसम्म सञ्चालन हुनेछ। विगतमा सञ्चालन गरिएको ‘सशक्त बालिका परियोजना’बाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै त्यसको प्रभावलाई थप विस्तार गर्ने उद्देश्यले परियोजना सुरु गरिएको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले बताउनु भएको छ ।

उक्त परियोजनाले बाल संरक्षणका सवालमा स्थानीय सरकार तथा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी जिम्मेवार प्रणाली विकास गर्ने लक्ष्य राखेको छ। त्यस्तै, बालबालिका तथा किशोर(किशोरीलाई गुणस्तरीय र समावेशी शिक्षामा पहुँच सुनिश्चित गर्ने, शिक्षकको क्षमता अभिवृद्धि गर्ने तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिनेछ। बालबालिका लाई विद्यालय शिक्षामा निरन्तरता दिन अभिभावकका लागि अभिमुखीकरण, बाल संरक्षण, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सरसफाइ र पोषण सम्बन्धी सचेतना मूलक कार्यक्रम समेत सञ्चालन गरिने जनाइएको छ।

परियोजना अन्तर्गत पूर्वकिशोरकिशोरी क्लब, बाल क्लब तथा युवा क्लबका सदस्यहरूलाई समेटेर २५ सदस्यीय पालिकास्तरीय एलुम्नाई क्लब गठन गरिएको छ। क्लबले बालविवाह न्यूनीकरण, लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना, सडक नाटक, समुदायस्तरीय अभियान मार्फत जनचेतना अभिवृद्धि गर्ने जनाइएको छ । आज भएको कार्यक्रममा क्लब सदस्यहरूको भूमिका, जिम्मेवारी, अधिकार तथा आचारसंहिता, शिक्षा तथा बालरयुवा संरक्षणका सवाल, स्थानीय सरकारसँगको सहकार्य, समुदायस्तरीय अभियान र युवा नेतृत्व विकासबारे छलफल गरिएको थियो।
कार्यक्रम संयोजक मनोज पौडेलले युवालाई सामाजिक परिवर्तनका संवाहकका रूपमा विकास गर्दै शिक्षा, संरक्षण र जनचेतनामूलक अभियानमा सक्रिय सहभागिता गराउनुपर्ने बताउनुभयो। उहाँले स्थानीय सरकारसँग समन्वय गरी युवामैत्री नीति तथा कार्यक्रम निर्माणमा योगदान गर्नुपर्नेमा जोड दिनुभयो। पौडेलका अनुसार आगामी दिनमा एलुम्नाई क्लबमार्फत समुदायमा सकारात्मक परिवर्तन, युवा सशक्तीकरण र नेतृत्व विकासका विभिन्न अभियान सञ्चालन गरिनेछ।