भोटेकोशी बाढी : विशाल ग्रुपद्वारा साढे २ करोड नगद र १ करोडको राहात सामग्री सहयोग
नेपालगन्ज : काठमाडौंको विशाल ग्रुप लिमिटेडले सरकारलाई साढे ३ करोड रुपैयाँ बराबरको सहयोग गरेको छ । ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप राहात उद्दार कोषमा २ करोड ५१ लाख नगद सहयोग र एक करोड रुपैयाँ बराबरको अत्यावश्यक सामग्री उपलब्ध गराउँदैछ ।
ग्रुपका प्रबन्ध निर्देशक अशोककुमार अग्रवाल र निर्देशक अर्पित अग्रवालले बुधबार अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई अर्थ मन्त्रालयमै भेटेर २ करोड ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
प्रबन्ध निर्देशक अग्रवालले ग्रुपको सामाजिक उत्तरदायित्व निकाय भीजी फाउन्डेसनमार्र्फत बाढी प्रभावितहरूका लागि थप १ करोड बराबरको अत्यावश्यक सामग्री भएको ५ हजार वटा बक्स राहात सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो । उक्त राहत प्याकेजमा तत्कालको पुनस्र्थापना अवधिमा प्रभावित परिवारलाई आवश्यक पर्ने खाद्यान्न, दैनिक उपभोग्य तथा सरसफाइका सामग्री समावेश हुनेछन् । यसका अतिरिक्त बाढी प्रभावितहरूका लागि २ हजार थान कम्बल र १ हजार थान सल समेत सहयोग गर्दैछ ।
चीनको तिब्बतमा हिम नदी फुटेर भोटेकोशीमा आएको विनासकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ गोरखा र तनहुँ जिल्लाका १५ स्थानीय तहका ४९ वटा वडामा ठूलो जनधनको क्षति पुग्नुका साथै भौतिक संरचनामा समेत व्यापक क्षति भएको छ । विशाल ग्रुपले यस विपद्मा आफन्त गुमाउनुभएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएको छ । साथै, बाढीबाट घाइते तथा प्रभावित हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । कार्यक्रमहरूमार्फत विशाल ग्रुप र भीजी फाउन्डेसनले संकटको घडीमा समुदायसँगै उभिने तथा प्राकृतिक विपद्पछिको उद्धार र पुनर्स्थापना कार्यमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।








